युवाले अनुसन्धानका लागि छलफल चलाए

कठमाडौं । नेपालमा महत्वपूर्ण अनुसन्धान हुन सकेको छैन । अझ प्राणी विज्ञानको अनुसन्धान निकै कम भएको देखिन्छ । यसलाई मध्यनजर गर्दै ‘नेपालमा प्राणी सम्बन्धी विकास र यसको भविष्य’ विषयमा राजधानीमा शुक्रबार युवाहरुले एक विषेश छलफल कार्यक्रम चलाएका छन् ।

युवाहरुको सक्रियतामा सञ्चालित साइन्टिफिक रिसर्च सोसाइटीले आयोजना गरेको उक्त छलफलमा सहभागी प्राध्यापक तथा विद्यार्थीहरुले विशेष गरी नेपालमा प्राणी विज्ञानको अनुसन्धानको अवस्था र अनुसन्धान पछि हुने फाइदाको विषयमा छलफल गरेका थिए । कार्यक्रममा विश्व जगतका प्राणीहरुको विकासक्रम एवं नेपालमा भएका विकासक्रमका बारेमा गहन छलफल गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवं पूर्व विज्ञानमन्त्री गणेश शाहले कुल पुँजीगत वजेटको ०.१ प्रतिशत रकम नेपाल सरकारले विज्ञान प्रविधिको क्षेत्रमा छ्ट्याउनु पर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै उनले नेपालमा प्राणी विज्ञानको अनुसन्धान गर्न ढिलाइ भएको समेत बताए । उनी भन्छन्, ‘प्राणी विज्ञान अनुसन्धान गर्न हामी अलि पछि परेका छौं, हाम्रो देशमा धेरै प्राणीहरुको अनुसन्धानलाई अगाडी लैजानु बाँकीनै छ ।’ त्यस्तै कार्यक्रमका विशेष अतिथि डा. मुकेस कुमार चालीसे नेपालमा अहिलेसम्म कुनै पनि त्यस्तो महत्वपूर्ण अनुसन्धान हुन नसकेको बताए ।

त्रिभुवन विश्वविद्यालयका प्राणी शास्त्र विभागका प्रोफेसर डा. उषा लोहनीले कार्यपत्र सहित नेपालमा भएको अनुसन्धान र अनुसन्धान हुन नसक्नुको कारण औंल्याइन् । अस्कल वातावरण विभागकी अध्यापक संगिता सुवेदीले प्राणी विज्ञानको खोज अनुसन्धान र यसको आवश्यकता माथी चर्चा गरिन । सहभागी विद्यार्थीहरुले राज्यले खोज अनुसन्धान गर्नमा नयाँ विद्यार्थीहरुलाई सहयोग गर्नुपर्ने धारणा राखेका थिए । विज्ञहरु भन्छन्, नेपालको विकास हुन नसक्नुको कारण भनेको अनुसन्धानको कमि हो ।

साइन्टिफिक रिसर्च सोसाइटीका अध्यक्ष हरिबोल आचार्यको सभापतित्वमा सम्पन्न उक्त छलफलमा प्रोफेसरहरु सहित अमृत साइन्स क्याम्पस, त्रिभुवन विश्वविद्यालय, पाटन क्याम्पस, ख्वप क्याम्पस र भक्तपुर क्याम्पसमा अध्यनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो । आगामी दिनमा काठमाडौं र काठमाडौं बाहिरका विज्ञान कलेजहरुलाई समेत समावेस गराई अनुसन्धानको विषयमा छलफल गर्ने आयोजक संस्थाले बताएको छ ।