मृत्युपछि मानिसको शरीर किन सड्छ, यस्तो छ वैज्ञानिक कारण

मानिसको शरीर मृत्यु भएको चार मिनेटपछि नै सड्न थाल्दछ । यदि अत्याधिक घाम लाग्ने स्थानमा छ भने शरीर कुहिनुको साटो सुख्खाहुँदै विस्तारै ‘मम्मी’ मा परिवर्तित हुनसक्छ ।

आस्मा अच्छामी

गत हप्ता अस्पतालमा मानिसको उपचारकोक्रममा मृत्यु भएको लासलाई लिएर आममानिसमा विभिन्न प्रश्न उब्जिएको छ ।  वीर अस्पतालको त्यो घट्नाको श्रव्यदृश्य सामाजिक सञ्जालमा भाइरल बन्यो ।

गत शनिबारनै अस्पतालद्वारा मृत शरीरलाई तीनपछि परिक्षणगर्दा आँखाबाट रगतजस्तो तरलपदार्थ बगिरहेको भिडियोमा देख्न सकिन्थ्यो । सुन्निएको, फोकाहरु र शरीर कालो हुँदै गइरहेको सहजै बुझ्न सकिन्थ्यो ।

अनुसन्धान हुन बाँकी उक्त विषयमा मृतकका आफन्तहरु उक्त घट्नाको सत्यतथ्य मागगर्दै निकै आक्रोशित बनेका थिए ।

तर यस्ता विषयमा वैज्ञानिक आधारहरु बुझ्न जरुरी हुनेछ । मृत्युपछि शरीरमा के कस्ता परिवर्तन आउँछन् र किन आउँछन् भन्ने कुरा बुझ्न जरुरी हुनेछ।

मृत्युपछि मानिसको शरीर सड्नु प्राकृतिक कुरा हो । तर शरीर सड्नेदर थुप्रै कारणहरुले फरक हुने गर्दछ । जस्तोः  मौसम, तापक्रम, पीएच, अक्सिजनको स्तर, मृत्युको कारण र शरीरको स्थिति इत्यादी ।

मृत्युपछि हुने परिवर्तनहरु

  • २४-७२ घण्टामा भित्री अंगहरु सड्न थाल्दछ ।
  • ३-५ दिनमा शरीर सुन्निएर रगतसहित तरल पदार्थहरु नाक, कान र मुखहरुबाट बग्न थाल्छ ।
  • ८-१० दिनमा शरीरको रङ हरियोहुँदै रातोमा परिणत हुन्छ । रगत सड्नथालेसँगै ग्यास पनि जम्मा हुन्छ ।
  • केहीहप्तापछि नङ, दातहरु झर्छन् ।
  • १ महिनापछि पुरै शरीर गल्छ ।

वैज्ञानिक मान्यतानुसार मानिसको शरीर मृत्यु भएको चार मिनेट पछि नै सड्न थाल्दछ । यो सड्ने दर अवस्थाअनुसार फरक-फरक हुने भएतापनि सबै मानव शरीर कुँहिदा चार चरण पार गर्दछन् ।

पहिलो चरण: शव विश्लेषण तथा प्रारम्भिक क्षय

श्वासप्रश्वास र रगत संचालन रोकिएसँगै शरीरले अक्सिजन पाउने र कार्वनडाइअक्साइड बाहिर पठाउन सम्भव हुँदैन । धेरै मात्रामा कार्वनडाइअक्साइड जम्मा हुँदा कोषभित्र अम्लिय वातावरण सिर्जना हुन्छ । जसका कारण कोषहरुका झिल्ली फुट्न थाल्छ । त्यसपछि भित्री इन्जाइम र तरल पदार्थ बाहिर निस्केर कोषहरुलाई पचाउन थाल्छन् । यसक्रममा सूक्ष्म जिवाणुहरु पनि उत्पन्न हुन् थाल्दछ ।

त्यस्तै मुटुको घड्कन रोकिने वितिकै शरीरको तापक्रम एक घण्टामा करिब १.५ डिग्री फरेनहाइटका दरले घट्न सुरु हुन्छ । यसरी धड्कन रोकिदा रगतको परिसंचरण (सर्कुलेसन) हुन नपाउँदा रगत तलतिर जम्छ र करिब २ देखि ६ घण्टाभित्र शरीर चिसोले अस्थाइ रुपमा कठ्याग्रिन्छ । साथै, भित्री अंग र छालाबाहिर तरल पदार्थ जमेर स-साना फोकाहरु पनि जम्न सक्छन् ।

दोस्रो चरणः पहिलो चरणमा फुटेका कोषहरुको सुन्निने चरण (ब्लोट) इन्जाइमसहितको तरलपदार्थ र सूक्ष्मजीव तथा जिवाणुको गतिविधिका कारण शरीरमा विभिन्न ग्यासहरु उत्पन्न हुन्छन् । ती ग्यासमा मुख्गरी सल्फर हुन्छ । सुक्ष्मजीव र किराहरुले खाइरहेको लासहरुबाट निस्कने सडेको गन्ध त्यही सल्फर भएको ग्यसका करण आउने गर्दछ । त्यस्ता गन्धले झिंगालगायत धेरै मात्रामा किराहरु बढ्न सुरु हुन्छन । लासमा ग्यास जम्मा हुँदा दुई गुणासम्म सुन्निने गर्दछ ।

तेस्रो चरण: शरीरको नाक, मुख, काम, आँखा र गुद्धारबाट तरल पदार्थ निस्कन थालेसँगै कुहिने प्रक्रिया तेस्रो चरणसम्म हुन्छ ।  यो चरणमा धेरै मात्रामा छाला र मासु गल्न थाल्दछ । तर नङ, कपाल, दाँत र हड्र्डीलगायत अन्य कडा कुराहरु बाँकी रहन्छन् ।

चाैथौं चरणः अन्तिम चरणमा नङ, दात र कपाल झर्छन् । कंकाल मात्र बाँङ्की रहन्छ । हड्डीको जैविक र अजैविक संरचनाको आधारमा कुहिने प्रक्रिया अगाडि बढ्दछ । यसको कुनै स्थिर समयसीमा हुँदैन ।

सामान्यतः यसरी लास सड्ने प्रक्रिया हुँदै गर्दा सुरुमा धेरै भौतिक र रसायनिक परिवर्तनहरु छिटो हुने गर्दछ । पछि त्यो प्रक्रिया धेरै विस्तारै हुने गर्दछ ।

शरीर सड्दैगर्दा निस्केको तरलपदार्थमा आश्चर्यजनकरुपमा धेरै पौष्टिक तत्तवहरु पाइन्छ। धेरै मात्रामा नाइट्रोजन हुँदा सड्दैगरेको शरीर राखेको ठाउँमा घाँसहरु सबै मर्छन् । तर लगभग एक वर्षपछि त्यस ठाउँको माटो निकै उर्वरा भएर आउने गर्दछ ।

अत्याधिक घाम लाग्ने स्थानमा भने शरीरको जिवाणुहरु बाँच्न सक्दैन । जसका कारण शरीर कुहिनुको साटो सुख्खाहुँदै विस्तारै ‘मम्मी’ मा परिवर्तित हुनसक्छ ।

साथै धेरै चिसोमा रसायनिक फर्मलडिआइड प्रक्रियामा मृत शरीर राख्दा शरीरमा रसायनिक प्रक्रिया हुन पाउँदैन । कुहिनबाट बच्छ ।

यसरी शरीर कस्तो अवस्थामा राखिएको छ । कुन वातावरणमा छ र मृत्युको कारणजस्ता अन्य धेरै कुराले शरीर कुहिने वा नकुहिने र कुहिन कति समय लगाने जस्ता कुरामा निर्भर गर्दछ । यी कुरा नबुझ्दा मानिसमा एक किसिमको संसय पैदा भएको बुझ्न सकिन्छ ।

सन्दर्भसामग्री:

Recent advances in forensic anthropology: decomposition research

Deadly secrets—the science of decomposition

(अच्छामी, रसायनशास्त्र केन्द्रीय विभाग कीर्तिपुरमा स्नात्तकतोर तेस्रो सेमिस्टर अध्ययनरत विद्यार्थी हुन् ।)