चारित्रिक शिक्षालाई जोड दिदैं वृहस्पति विद्यासदन

रिभोसाइन्स संवाददाता

काठमाडौं । वृहस्पति विद्यासदन कक्षा दशमा अध्ययनरत रकृति महर्जन शिक्षकहरुले चारित्रिक शिक्षामा जोड दिएकोमा खुशी छन् । चारित्रिक शिक्षाले कोभिड माहामारीका बेला उनलाई सहयोग गरेको बताइन् ।

गत हप्ता ‘कभिड-१९’ले बन्द भएको उनको विद्यालय खुल्यो । त्यसपछि विद्यालय आएर अध्ययन गर्दा उनलाई छुट्टै आनन्द महशुस भएको छ । घरबाटै अनलाइन मार्फत् अध्ययन गर्दा उनलाई बुझ्न कठिन हुन्थ्यो । महर्जन भन्छिन्, ‘कक्षामै ध्यान भंग भैरहन्थ्यो । घरमा बसेर अनलाइन मार्फत् अध्ययन गर्दा अध्ययन गरेको जस्तो हुँदैन्थ्यो।’

उनलाई विद्यालय आएर सिक्न नपाउँदा एक किसिमको व्याकुलता हुन्थ्यो । ‘व्याकुलता हटेपनि लामो समय विद्यालयमा मास्क लगाउँदा असहज महशुस भैरहेको छ,’  रकृति भन्छिन्, ‘कोभिड एक प्रकारको सरुवा रोग भएकोले अविछिन्न रुपमा मास्क लगाउने गर्दछु । नियमित सावुन पानीले हात धुने र स्यानीटाइजर प्रयोगको नियम पालन गरेको छु। यी भनेको चारित्रिक शिक्षा भित्र पर्ने कुरा हुन,  जसले मानव जीवन रक्षाकालागि सहयोग गर्दछ ।’

रकृति महर्जन, विद्यार्थी

विद्यालयमा चारित्रिक शिक्षासँगै अध्ययन गर्ने,  सम्झने र त्यसलाई मनन गर्ने तरिकाहरु सिकाइदा उनलाई अध्ययन गर्न सहज भएको छ । भविष्यमा ‘इन्टरिएर डिजानर’ बन्ने रुची राख्ने रकृति आजकल शिक्षकहरुले अलिबढी मित्रवत व्यवहार गरेको बताउँछिन् ।

वृहस्पति विद्या सदन कक्षा दशमै अध्ययनरत अर्का विद्यार्थी करुण भट्टराई भन्छन्, ‘बालबालिकाको मनस्थिति गलततर्फ नजाओस भनेर चारित्रिक शिक्षाले भूमिका खेल्न सक्दछ ।’ भविष्यमा मुटुरोग विशेषज्ञ बन्ने लक्ष्यलिएर विद्यालय धाउँदै गरेका भट्टराई कोभिडपछि विद्यालयमा आएर अध्ययन गर्दा धेरै बुझेको बताउँछन् ।

‘विद्यालयमा अध्ययन गर्दा शिक्षकहरुले मिहिनेतले अध्यापन गराइरहनु भएको छ, अझ मिहिनेत गर्नु पर्ने महशुस हुँदोरहेछ,’ भट्टराई भन्छन् ।

करुण भट्टराई, विद्यार्थी

नैतिक, असल, आनीवानी, स्वस्थ्य, सफलता, परम्परा, सामाजिकरुपमा आफूलाई सक्षम बनाउने कुराहरु कुनै पनि देशको नागरिकको कर्तव्य भित्र पर्दछ । त्यसैले करिब दुई वर्षदेखि आधारभूत शिक्षण विधिमा आधारित चारित्रिक शिक्षामा जोड दिएको वृहस्पति विद्या सदनका प्रिन्सिपल कुमार थापा बताउँछन् ।

कुनै पनि विद्यार्थीलाई चारित्रिक शिक्षाले उसको भविष्यमा आइपर्ने संकटको सामना आफै गर्न सक्छन् । विद्यार्थीलाई कुनै पनि समाजमा रहेर आफ्नो जीवन सहज बनाउन मद्दत मिल्नेछ ।

चारित्रिक गुण विनाको उच्च शिक्षा हासिल गरेकाले सफल नेतृत्व लिन सक्दैनन् । किनभने, सामाजिक सदभाव, प्रेम, आदर तथा सत्कारको कुनै पनि विद्यार्थीमा भएन भने समाज विकासमा त्यसले नकारात्मक भूमिका खेल्नेछ ।

कुमार थापा, प्रिन्सिपल

वातावरण प्रदूषण र गलत आचरणयुक्त क्रियाकलाप जस्ता कुराहरुको  समाजमा व्याप्त हुनजान्छ । त्यसकारण विद्यार्थीहरुले आफ्ना कक्षा-कोठादेखि विद्यालय परिसर सरसफाईमा ध्यान दिने, आफ्ना कोठा, घर-आँगन र बोलीचालीमा अव्वल बनाउन चारित्रिक शिक्षाले भूमिका खेल्न सक्दछ।

सोह्र वर्षदेखि अध्यापनरत नेपाली शिक्षिका मिना रावत चारित्रिक शिक्षाले विद्यार्थीको चौतर्फी विकासका लागि मुख्य भूमिका खेल्ने बताउँछिन् । कतिपय विद्यार्थी शैक्षिक गतिविधिमा कमजोर देखिएता पनि उसको चारित्रिक गुण राम्रो हुन्छन् । त्यस्ता विद्यार्थीले समाजमा सकारात्मक भूमिका खेल्ने शिक्षिका रावत उल्लेख गर्छिन् ।

‘विद्यार्थीहरुको रुची जान्ने र प्रतिभालाई कसरी प्रस्फुटन गराउने भूमिका शिक्षकको हो,’ शिक्षिका रावत भन्छिन्, ‘कतिपय विद्यार्थीहरुले चारित्रिक कुरामा सहजै अनुसरण गरेको पाइदैन । तर त्यस्ता विद्यार्थीलाई पाठसम्वन्धित बनाएर शिक्षा दिइन्छ ।’

मिना रावत, नेपाली शिक्षिका

करिब अठार वर्षदेखि शिक्षण पेशा अँगालेका अंग्रेजीका शिक्षक तेजेन्द्र लम्साल ‘चारित्रिक शिक्षाको मूल उद्देश्य भनेको उनीहरुको चरित्र निर्माण गर्नु हो’ भन्छन् ।

विद्यार्थीलाई जतिसक्दो नजिकबाट नियाल्न सके त्यतिनै बढी उनीहरुको चरित्र थाहा पाउन सकिन्छ । ‘त्यसले उनीहरुको बानी-व्यवहोरा कस्तो छ, बोल्ने शैली कस्तो छ र घरमा के गर्छन् भन्ने पहिचान हुन्छ,  शिक्षक लम्साल भन्छन्, ‘यसरी विद्यार्थीको पहिचान गरिसकेपछि शिक्षा दिन सहज हुँदोरहेछ।’

‘चारित्रिक शिक्षाले विद्यार्थीहरुको दृष्टिकोणमा परिवर्तन गर्न सहज हुनेछ। कतिपय अभिभावकसँग परामर्श पनि गरिन्छ । कतिपय बालबालिकाको बानीव्यवहोरा परिवारले पनि सम्हाल्न सकिरहेको हुँदैन । त्यसमा चारित्रिक शिक्षाले सहयोग गरेको’ शिक्षक लम्साल उल्लेख गर्छन्।

शिक्षक लम्सालले विद्यार्थीहरुलाई कक्षामा नीति तथा आचरणको कुरा सिकाउँदा विद्यार्थीको अनुहारबाट उनीहरुले अनुसरण गरेको वा नगरेको थाहा पाउन सकिने बताउँछन् । शिक्षक लम्साल भन्छन्, ‘त्यस्ता शिक्षाले विद्यार्थीहरु थप अनुशासित हुने हुँदा कोभिडका बारेमा विद्यार्थीको बुझाइ राम्रो पाइयो ।’  त्यसैकारण विद्यार्थीहरुमा ‍आत्मविश्वास बढेको पाइएको छ । विद्यार्थीहरुले स्वास्थ्यसम्वन्धी पूर्व-सावधानी पालना गरेका छन् ।

तेजेन्द्र लम्साल, अंग्रेजी शिक्षक

बीसौ वर्ष अध्यापन पेशामा आवद्ध भैसकेका वृह्स्पतिका प्रिन्सिपल थापा भन्छन् ‘राम्रो चरित्र भए मात्र विद्यार्थी सफल हुन्छन् ।’ चारित्रिक कुरा भनेको सकारात्मक सोचमा निर्भर हुन्छ ।

बालबालिकामा जन्मदै सकारात्मक गुणहरु हुन्छन् । साँचो बोल्ने र प्रश्न सोध्न बानी हुने अनुसन्धानले पनि देखाइसकेको प्रिन्सिपल थापा उल्लेख गर्छन् ।

समाजमा एउटा बालक घुलमिल हुँदै गएपछि उसको आचरण पनि त्यस्तै हुँदै जाने हुन्छन् । त्यसकारण विद्यालयले पछिल्लो समय सकारात्मक चरित्र निर्माणमा लागेको प्रिन्सिपल थापा बताउँछन् ।

विद्यालयमा चारित्रिक शिक्षा लागू गर्न कक्षा शिक्षकसँगै सह-कक्षा शिक्षक चयन गरिएको छ। सह-कक्षा शिक्षकले विद्यार्थीको क्रियाकलाप र हाउभाउ लेखाजोखा राख्ने गर्दछ । विद्यार्थीहरुको वितेका वर्ष र अहिले भैरहेको गतिविधि नियाल्ने काम सह-कक्षा शिक्षकको हुन्छ ।

सह-कक्षा शिक्षकले पेश गरेको रिपोर्टको आधारमा विद्यार्थीहरुको कमिकमजोरीमा छलफल गरिन्छ । त्यसपछि विद्यार्थीको कमजोरीलाई सुधार तर्फ ध्यान दिइन्छ । तवमात्र विद्यार्थीको चरित्र सुधार्न शिक्षकले थप भूमिका खेल्ने प्रिन्सिपल थापा बताउँछन् ।

थापा भन्छन्, ‘कहिलेकाही सबै प्रकारको सहयोग गर्दा पनि विद्यार्थी सुध्रिदैन । त्यस्तो बेला वाहिरी विज्ञमार्फत् परामर्श गराउन पर्दछ ।’

विद्यालयले गएको दुई वर्षमा शिक्षक, अभिभावक र विद्यार्थीसँग परामर्श गरेका छन् । ‘शिक्षकले प्रश्न सोध्ने र रट्ने परम्परा हटाउन लागिपरका छौं,’ प्रिन्सिपल थापा भन्छन्, ‘सुरुमा शिक्षकलाई प्रशिक्षण गराएर लागू गर्न कठिन भयो । तर अहिले निकै परिवर्तन भैसकेको छ।’

पाठ्यक्रमले विद्यार्थीलाई बालबालिकाको बानी-व्यवहोरालाई परिवर्तन गर्न खोजिरहेको हुन्छन्। तर चारित्रिक शिक्षामा केन्द्रित हुँदा अझ राम्रो भैरहेको शिक्षकहरुको भनाइ छ।

‘कार्यक्रमका बेला विद्यार्थीहरुले आफूले खाएका चक्लेटका खोलहरु जताभावी फ्याक्दथे । अहिले त्यस्तो भएको छैन, प्रिन्सिपल थापा भन्छन्, ‘आदर, जिज्ञासा, सृर्जनशीलता, इमान्दार र अनुशासनजस्ता चारित्रिक शिक्षा भित्र पर्ने तत्वले विद्यार्थीलाई चरित्रवान बनाउ मद्दत गर्नेछ ।’

केही विद्यार्थी ठूला स्वरमा बोल्दथें तर अहिले त्यसो गर्दैनन् । प्रिन्सिपल थापाका अनुसार विद्यार्थीलाई थप सृर्जनशील बनाउन ‘स्टिम, थ्रिएटर र क्ले आर्ट’लाई पनि महत्व दिइएको छ । अहिले ऐच्छिक रुपमा ती विषयहरु विद्यार्थीले अध्ययन तथा प्रयोगात्मक रुपमा गर्छन् ।

‘स्टिम एडुकेशन प्रणालीमा विज्ञान र गणितका शिक्षकलाई जोड्न जटिल हुँदो रहेछ,’ प्रिन्सिपल थापा भन्छन्, ‘स्टिम तथा चारित्रिक शिक्षाले विद्यार्थीहरुमा सिर्जनात्मक गुण अभिवृद्धि हुँदा उनीहरुको कतिपय ‘आइडिया’ लाई मूर्त रुप दिन जटिल भएको छ ।’