साइन्स सिटीको अवधारणामा जुट्दै नास्ट

लक्ष्मण डंगोल

ललितपुर । ललितपुरको सातदोवाटोदेखि गोदावरीसम्म सिमा निर्धारण गरेर साइन्स सिटीको अवधारणामा छलफल सुरु भएको छ । करिब ११ किलोमिटर दुरी र बढीमा पाँच सय मिटर फैलावटको क्षेत्र निर्धारण गरि त्यसवरपरका सम्वन्धित संस्थाहरुको सहभागीतामा छलफल सुरुभएको हो ।

छलफलमा प्रारम्भिक प्रतिवेदनको खाका प्रस्तुत गरेका छन् । त्यसअनुसार साइन्स सिटीमा विज्ञान प्रविधिसँग सम्वन्धित र बसोबासका लागि आवश्यक सम्पूर्ण पूर्वाधार र सुविधाहरु समेटिनेछ ।

नेपालमा अन्तर्राष्ट्रियस्तरको साइन्स सिटी निर्माणमा बजेट अभाव हुने भएपछि वैज्ञानिक संस्थाहरुको सञ्जाल विकास गरि साइन्स सिटीको परिकल्पना गरेको बुझिएको छ । प्रारम्भिक चरणमा त्यस क्षेत्र वरपर रहेका वैज्ञानिक संस्थाहरुले आफूले गरेको काम तथा भएका प्रविधिहरु सर्वसाधरण तथा विद्यार्थीहरुलाई अवलोकन गर्ने व्यवस्था मिलाइनेछ । इसिमोडको ज्ञान पार्क र बनस्पति उधानहरुको सहज अवलोकन गर्ने व्यवस्था मिलाइने उल्लेख छ।

नास्टका उपकुलपति उपकुलपति डा सुनिलबाबु श्रेष्ठले साइन्स सिटीलाई मूर्तरुप दिन ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिकासँग र काठमाडौं महानगरपालिकासँग सहकार्यकालागि छलफल अगाडि बढाएको बताए ।

‘नास्ट वरपर ५० भन्दा बढी विज्ञानसँग सम्वन्धित निकायहरु छन्, तीसंस्थासँग सहमति पत्रमा हस्ताक्षर (एमओयु) गरेर अगाडि बढिनेछ,’ उनले भने, ‘ विकास र सम्वृद्धिका लागि विज्ञान र प्रविधि’ सँगसँगै लैजान स्थानीय तहसँग मिलेर काम गरिनेछ ।’

‘सुरुवातमा नास्टको नेतृत्वमा साइन्स सिटिको अवधारणा प्रस्तुत गरिएको हो । पछि आपसी समझदारीमा नेतृत्व अन्य संस्थाले गर्नसक्ने मोडालिटीमा जान सकिने’ कुलपति डा. श्रेष्ठले उल्लेख गरें ।

साइन्स सिटीका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष(एनटिएनसी), नेपाल कृषि अनुसन्धान परिषद्(नार्क), राष्ट्रिय खेलकुद परिषद् सातदोवाटो,   नेपाल अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र(इसिमोड),  वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र(एइपिसि) लगायतका वैज्ञानिक संस्थाहरुसँग नास्टले सहकार्यकालागि विभिन्न चरणमा छलफल गरिसकेको छ । त्यस्तै, निजी शैक्षिक संस्था लिटिल एन्जल्स,  काठमाण्डौं विश्वविद्यालय स्कूल अफ आर्ट र अस्पताललगायतसँग पनि सहकार्यका लागि पहल भैरहेको छ । स्थानीयस्तरका अन्य सामाजिक संस्थाहरुसँग भने छलफल हुन बाँकी रहेको जनाएको छ ।

नास्टमा विहिबार भएको छलफलमा अधिकांश विज्ञहरुले साइन्स सिटी परिधिमा पर्ने सांस्कृतिक संम्पदाहरुको संरक्षण र प्रवर्द्धनमा भूमिका प्रस्ट हुनु पर्नेमा जोड दिएका थिए । हाम्रा संम्पदा र वातावरणमा परेका असरले पर्यावरण तथा जैविक विविधतामा असर परेको छ, अव बन्ने साइस सिटीलाई आधुनिकतासँगै ‘सास्कृतिक धरोहर’लाई जोड्नु पर्ने विज्ञहरुले धारणा राखेका थिए । त्यस्तै,  साइन्स सिटीको अवधारणा सशक्त बनाउन मन्त्रालयस्तरबाट पहल गरिनु पर्ने कुराहरु उठेका छन् ।

प्रारम्भिक चरणको खाकामा साइन्स सिटीको पहिलो केन्द्र नास्ट, दोस्रो संस्कृति सम्पदा हरिसिद्धि परिसर र तेस्रो गोदावरी रहनसक्ने छलफलमा रिजनल एण्ड अर्वन प्लानर्स सोसाइटी (रुपसन)का अध्ययता एकराज अधिकारीले मौखिक प्रस्तुतीक्रममा बताए ।

उनका अनुसार प्रस्तावित साइन्स सिटिमा यातायातको नविनतम प्रविधिको प्रयोगको कुरादेखि लिएर विज्ञान प्रदर्शनी स्थलको छनोट र वैज्ञानिक वस्तीको अवधारणा पेश हुनेछन् । सूचना केन्द्र, विद्युतीय वस,  केवलकार, मनोरेल र स्मार्ट साइकलको व्यवस्था हुन पर्नेछ । नेपालको परम्परागत ज्ञान, सीप र प्रविधिलगायत कम्तिमा एक लाख आइटम साइन्स सिटिमा हुनुपर्ने प्रतिवेदनको खाकामा अध्ययता ढकालले उल्लेख गरें।

वातावरण संरक्षण र पर्यावरणमा सुधारका कुरालाई अधिकतम प्राथमिकता दिने भनिएको छ । सवारीसाधान पार्किङ,  विज्ञान प्रविधि र नवप्रवर्तन् पार्क बनाउन सकिने उल्लेख छ ।

त्यस्तै, विभिन्न देशको मोडल दिदै नेपालको आफ्नै मोडल हुन पर्नेमा विज्ञहरुले जोड दिएका छन् । कला तथा अमूर्त सम्पदालाई सकेजति वैज्ञानिक व्याख्या गर्ने कुरा छलफलमा उठेको थियो । त्यस्तै मौलिक विज्ञान तथा प्रविधिको उचित संरक्षणको कुरा अधिकांश विज्ञले उठाएका छन् ।

नेपाल क्यान्सर अस्पतालका डाक्टर मुरारीमान श्रेष्ठले साइन्स सिटि निर्माणमा माथिल्लो निकायको भूमिकामा प्रस्न गरें । राज्यका माथिल्ला निकायको सहभागीता विना भौतिक विकासको कुराहरुको व्यवस्थापन असम्भव हुने डाक्टर श्रेष्ठले ‌औल्याए ।

इसिमोडका राजेशराज थापाले साइन्स सिटीलाई सहकार्यको मोडलमा विकास गर्दा कार्यान्वनमा जान सहज हुने सुझाए । ‘इसिमोडले गोदावरीमा पार्यावरण तथा ज्ञान केन्द्रको अवधारणामा काम गरिरहेको छ, ’ उनले भने ।

नास्टका सचिव डा. महेशकुमार अधिकारीले राष्ट्रिय वानस्पतिक उधान छुटेकोमा त्यसलाई पनि समट्न पर्ने बताए ।

त्यस्तै, ललितपुर महानगरपालिकाका श्रीकुमार महर्जन,  त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञानका प्राडा रेजिना मास्के, राष्ट्रिय खेलकुद परिषद् सातदोवाटोका गोविन्द पण्डित, नार्कका आरके मैनाली र नेपाल जिआइएस सोसाइटीका भोलानाथ ढकालले सुझाव दिएका छन्  ।