काठमाडौँ । पछिल्लो समय वातावरणमा आएको परिवर्तनले मानव स्वास्थ्य तथा हिमाली क्षेत्रमा परेको प्रभावका बारेमा विद्यार्थीहरू चिन्तित बनेका छन् ।
भविष्यका कर्णधार मानिने बालबालिकाहरूले स्वच्छ वायुमण्डल तथा पृथ्वी चराचर जीवको घर भएकाले यसको संरक्षण गर्नु हामी सबैको दायित्व भएकोमा जोड दिए ।
त्यतीमात्र होइन, जुन ५ अर्थात् विश्व वातावरण दिवसको महत्त्व दर्साउन उनीहरूले ‘गो ग्रिन सेभ अर्थ’ अभियानको आयोजना बौद्ध इन्टरनेशनल स्कुलमा गरेका छन् ।
स्वच्छ वातावरण विना मानिस तथा अन्य जीवको अस्तित्व नै सङ्कटमा आउने कक्षा २ मा अध्ययनरत छात्रा श्रीनिका लामा तामाङ बताउँछिन् । भर्खर सात ७ वर्ष लागेकी श्रीनिकाको भविष्यमा चित्रकला क्षेत्रमा लाग्ने रुचि छ, तर उनी भन्छिन्, ‘स्वच्छ वातावरण निर्माणका लागि हामीले दैनिक एउटा बिरुवा रोप्नुपर्ने र प्लास्टिक जथाभाबी फ्याँक्न हुँदैन ।’
‘वातावरण दिवसको अवसरमा आयोजित कार्यक्रमको दौरान मानवीय कारणले सिर्जित जलवायु परिवर्तन भएको कुरा थाहा पाएको कक्षा ४ मा अध्ययनरत परिष्कृत पन्थ बताउँछन् । उनी बढ्दो सहरीकरण तथा प्लास्टिकका समस्याले सहर कुरूप भएकोले चिन्तित देखिन्थेँ। वायुमण्डलमा दूषित हुनुमा हामीले चढ्ने सवारीसाधन तथा औद्योगिक क्षेत्रबाट निस्कने दूषित धुवाँ भएको उनको बुझाइ छ । त्यसको समाधान कसले गर्ने भन्ने प्रश्नमा उनले भने, ‘हामी सबैले ।’
कक्षा ६ मा अध्ययनरत याङ्किला शेर्पाको भविष्यमा रक क्लाइम्विङ पेसा अवलम्बन गर्ने लक्ष्य छ । जति उनमा चट्टानी पर्वतारोहण गर्ने सोख पलाएको छ, त्यतीनै उनमा वातावरणीय परिवर्तनले पृथ्वीमा जीवको अस्तित्व समाप्त हुनेमा चिन्तित देखिन्छन् । उनी भन्छिन्, ‘बौद्ध आसपास सडक धुलाम्य तथा पानीका कारण चिप्लो देखिन्छ । सडक चिप्लोका कारण मानिसहरू लड्छन्।’
उनको विचारमा यस्तै कारणले हाम्रो पर्यावरण बिग्रिएको छ। यसलाई सरकार तथा त्यस वरपरका मानिसहरूले बेवास्ता गर्दा वातावरण थप बिग्रेको छ । उनी भन्छिन्, ‘हामीलाई वातावरणीय कार्यक्रममा सहभागी गराएपछि जलचर तथा थलचर जोगाउन जानकारी हासिल भएको छ ।’
कक्षा ८ मा अध्ययनरत श्रीकृष्ण महर्जन भने बायु प्रदूषण रोक्न विद्युतीय सवारीसाधन (इभी)मा जोड दिन पर्ने बताउँछन्। उनको लक्ष्य भनेको भविष्यमा इभीको व्यापार गर्ने हो ।
पछिल्लो समय विश्व तापमान वृद्धिले हाम्रा वायुमण्डलीय अवस्थितिमा परिवर्तन भइरहेको उनको बुझाइ छ । तापमान वृद्धिका कारणले समयमा पानी नपर्ने वा कतै पानी अधिक पर्ने र हिमालयमा हिम पग्लने अवस्था आएको उनी बताउँछन् । हामीले वातावरण जोगाउन आ–आफ्नो ठाउँबाट भूमिका खेल्नु पर्दछ, जस्तै: वरपर सफा गर्ने, समुन्द्रबाट प्लास्टिक हटाउने र डिजेल पेट्रोलबाट चल्ने गाडीहरू कम गर्नुपर्ने उनी बताउँछन् ।
विआइएसका विज्ञान विभागका विभागीय प्रमुख सुमन श्रेष्ठ भन्छन्, ‘हाजिरी जवाफ प्रतियोगिता, व्यक्तित्व कला, विभिन्न किसिमका वातावरणीय थ्री आर मोडलमा काम गरियो।’
उनका अनुसार कक्षा ८ का विद्यार्थीहरूलाई ‘रिड्युस, रिसाइकल र रियुज’ परिकल्पनामा आफ्नो परिवारसँग मिलेर प्रोजेक्ट गर्नुपर्ने भनेका थियौँ। सोही अनुसार विभिन्न किसिमका मोडल विद्यार्थीहरूले बनाएका छन् ।





‘गो ग्रिन सेभ अर्थ’
त्यस्तै ‘गो ग्रिन सेभ अर्थ’ परिकल्पना अनुसार कक्षा ९का विद्यार्थीहरूले घरमा प्रयोग गरिसकेका प्लास्टिक बोतल वा अन्य बस्तु विद्यालयमा लिएर आएर पुन प्रयोग गर्न मिल्ने चिजहरू बताएका छन् ।

कक्षा ९ मा अध्ययनरत छात्रा छिरिङ डोल्कर शेर्पाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनले प्रत्यक्ष पारेका प्रभाव र त्यसलाई रोग्न मानिसले कस्ता गतिविधि गर्ने भन्नेमा केन्द्रित भएर ‘क्लाइमेट एक्सन स्टाट्स विथ अस’ मा प्रस्तुति दिएका थिइन । उनी भन्छिन्, ‘मेरो नारा भनेको ‘सी द माउन्टेन ।’
तबमात्र हामीले वायुमण्डलमा हुने परिवर्तन वा वायुमण्डललाई जोगाउने उपायमा युवाहरूलाई सुसूचित गर्न सकिन्छ । उनी भन्छिन्, ‘हामी बस्ने पृथ्वी सम्पूर्ण जीवको घर भएकोले जीवित राख्ने उपायमा ध्यान दिन जरुरी हुन्छ ।’
विभिन्न वैज्ञानिक अध्ययनका आधारमा उनी भन्छिन्, ‘हिमगलन तथा हिमताल विस्फोट र प्राकृतिक प्रकोप नै जलवायु परिवर्तनका प्रमुख कारक हुन् । त्यस्तै मानवीय गतिविधिका कारणले विश्व तापमानमा वृद्धि भएको छ ।
‘मानिसले प्रयोग गर्ने सवारीसाधनबाट निस्कने कालो धुवाँले पनि हिमाली क्षेत्रमा प्रभाव पारिरहेको उनी बताउँछिन् । उनले हिमाली क्षेत्रमा हेलिकप्टरको प्रयोग गर्नु पनि मानवीय गतिविधि हो भनिन् ।
विद्यार्थीहरू वातावरणीय कुरामा बढी नै सहजक तथा प्रयोगात्मक हिसाबले लाग्न प्रेरणा मिलोस् भनेर यस वर्षदेखि हप्ताभरि कार्यक्रम राखिएको विआइएसका प्रिन्सिपल हरि लामा बताउँछन् ।






Leave a Reply