
विरेन्द्रनगर, कार्तिक २१ । मध्यपश्चिम विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच विश्वविद्यालयको ग्र्याजुएट स्कुल अफ इन्जिनियरिङका लागि आवश्यक प्रयोगशाला सामग्री तथा उपकरण खरिद गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ।
सम्झौता पत्रमा मन्त्रालयतर्फबाट माननीय मन्त्री घनश्याम भण्डारी र सचिव धोलकराज ढकालले हस्ताक्षर गरे भने विश्वविद्यालयतर्फ उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतम, रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेल तथा डिन सह-प्रा. डा. राजन सुवालले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ का लागि रु. ४ करोड बजेट विनियोजन गरी प्रयोगशाला सामग्री तथा उपकरण खरिद गर्ने व्यवस्था गरेको छ। यस कदमले इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूको व्यवहारिक सिकाइ, अनुसन्धान तथा परीक्षण क्षमतामा अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ।
कार्यक्रमका प्रमुख अतिथि उपकुलपति प्रा. डा. गौतमले विश्वविद्यालयले पारदर्शी र प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै कर्णाली प्रदेश सरकार र मन्त्रालयलाई धन्यवाद दिए । उनले यो सहकार्यले विश्वविद्यालयलाई अनुसन्धानमैत्री र प्राविधिक रूपमा सबल संस्थाका रूपमा अघि बढाउने विश्वास व्यक्त गरें ।
कार्यक्रमका अध्यक्ष मन्त्री भण्डारीले विश्वविद्यालयले सिभिल इन्जिनियरिङ, निर्माण तथा पूर्वाधार विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दै जाजरकोट भूकम्प तथा पुल मूल्याङ्कनमा देखाएको दक्षता उल्लेखनीय रहेको बताए । उनले आधुनिक ल्याब स्थापनाले नयाँ आयाम थप्ने र आगामी दिनमा मन्त्रालय–विश्वविद्यालय सहकार्य अझ सुदृढ हुने धारणा व्यक्त गरे ।
त्यसैगरी डिन सह-प्रा. डा. सुवालले आधारभूत प्रयोगशाला सामग्रीदेखि अनुसन्धान उपकरणसम्म उपलब्ध गराउन यो सहयोग महत्वपूर्ण हुने उल्लेख गर्दै मन्त्रालयप्रति आभार व्यक्त गरें ।
मन्त्रालयका सचिव ढकालले यो सहकार्य ऐतिहासिक भएको बताउँदै विनियोजित बजेट, खरिद प्रक्रिया तथा कानुनी प्रावधानबारे जानकारी दिए । उनले चार करोडको बजेट प्रभावकारी रूपमा कार्यान्वयन हुने र मन्त्रालयले आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सम्झौता हस्ताक्षर कार्यक्रममा विश्वविद्यालयका विभिन्न विभागीय प्रमुख, कार्यकारी निर्देशक, उपकुलपति तथा रजिष्ट्रार सचिवालयका सदस्यहरू उपस्थित थिए। मन्त्रालयतर्फ शैक्षिक विकास महाशाखा प्रमुख, मन्त्री सचिवालयका सदस्य तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
यस सम्झौतासँगै विश्वविद्यालय र प्रदेश सरकारबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छ। आगामी दिनमा अत्याधुनिक उपकरणयुक्त प्रयोगशाला स्थापना भई शिक्षण, सिकाइ, अनुसन्धान तथा परीक्षण क्षमतामा गुणात्मक सुधार हुने र कर्णाली प्रदेशको भौतिक विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।


Leave a Reply