|
Getting your Trinity Audio player ready…
|

काठमाडौं, पौष २५ । नेपाल अटोमोबिल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले इन्जिनियरिङ अध्ययन संस्थान, थापाथली क्याम्पससँग सहकार्यमा आयोजना गरेको मोबिलिटी संवाद को नवौँ श्रृङ्खला सम्पन्न भएको छ।
“कम्पिटली नक्ड डाउन (सीकेडी) भेहिकल एसेम्ब्ली अपरट्यूनिटिज, च्यालेन्जेज, एण्ड प्रोस्पेक्टस्” शीर्षकमा केन्द्रित संवादमा उद्योग, शिक्षा र नीतिनिर्माताबीचको सहकार्यका सम्भावनाबारे गहन छलफल गरिएको थियो।
डा. खेम ज्ञवालीले लामो समयपछि उद्योग–शिक्षा सहकार्यमा आधारित कार्यक्रम आयोजना गर्न पाएकोमा गर्व व्यक्त गर्दै व्यवहारिक सिकाइ, अनुसन्धान तथा उद्योगसँग सहकार्य विस्तारका लागि यस्ता संवाद आवश्यक रहेको बताए।
प्राविधिक प्रस्तुति थापाथली क्याम्पसका सहायक प्राध्यापक इ. लोचन केन्द्रदेवकोटाले प्रस्तुत गरेका थिए भने प्यानल छलफलमा यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक श्रीकान्त यादव, उद्योगपति तथा नाइमा बोर्ड सदस्य शेखर गोल्छा, र डिपुटी इन्स्ट्रक्टर इ. लक्ष्मण पालिखेल सहभागी थिए।
प्यानल छलफलमा वक्ताहरूले मानव स्रोत विकास, प्रविधि सुदृढीकरण र नीतिगत स्थायित्वबिनादिगो औद्योगिक विकास सम्भव नहुनेमा जोड दिए। भारत, चीन, ब्राजिल तथा अफ्रिकी मुलुकहरूको अनुभवलाई उदाहरण दिँदै औद्योगिकीकरणको प्रारम्भिक आधारका रूपमा सफल देखिएको उल्लेख गरियो।
नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले संवादलाई अझ फराकिलो सहकार्य र युवाको सहभागिता अभिवृद्धिसहित निरन्तरता दिने जानकारी दिँदै दशौँ श्रृङ्खला पुल्चोक क्याम्पसमा आयोजना हुने बताए।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीले आधुनिक सवारीसाधन प्रविधि र सफ्ट स्किल्स सम्बन्धी तालिम उपत्यकाका सम्पूर्ण ट्राफिक प्रहरीलाई प्रदान गर्ने नाइमाको पहलको प्रशंसा गर्दै हालैको क्षतिपछि गरिएको सहयोगप्रति आभार व्यक्त गरे।
नाइमाका बोर्ड सदस्य यमुना श्रेष्ठलेले सीकेडी भेहिकल एसेम्ब्ली, नीतिगत स्पष्टता तथा शैक्षिक संस्था–सरकार–निजी क्षेत्रबीचको सहकार्यले मात्र नेपालको अटोमोबिल उद्योगलाई दिगो र प्रतिस्पर्धी बनाउन सकिने धारणा व्यक्त गरिन्।
कार्यक्रममा नीति निर्माता, उद्योग प्रतिनिधि, शैक्षिक विज्ञ, ट्राफिक प्रहरी, सञ्चारकर्मी, विद्यार्थी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
विद्यार्थी संगठन अटोमोवाइल एण्ड मेकानिकल इन्जिनियरिङ स्टुडेन्टस् इनोभेटिभ नेक्ससको संयोजनमा सम्पन्न कार्यक्रममा रोजगारी सृजना, सीप विकास, उत्पादकत्व वृद्धि र स्वदेशमै मूल्य श्रृङ्खला विस्तारबारे गहन छलफल गरिएको थियो।


Leave a Reply