|
Getting your Trinity Audio player ready…
|

ललितपुर, चैत १३ । कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच राष्ट्रिय परिचय व्यवस्थापन प्रणालीको विद्युतीय सेवा प्रयोग गर्ने सम्बन्धी सम्झौता भएको छ ।
कर्मचारी सञ्चय कोषको सेवा प्रवाहलाई थप सहज, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले कोष र विभागबीच आज सम्झौता भएको हो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरे र कर्मचारी सञ्चय कोषका प्रशासक जितेन्द्र धितालले विहीवार काठमाडौंमा सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरें ।
सम्झौताबाट कोषमा आवद्ध हुने र आवद्ध भइसकेका सञ्चयकर्ताहरूलाई नयाँ परिचयपत्र जारी गर्दा पहिचानको प्रमाणीकरण राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली मार्फत हुने सुनिश्चित भएको छ । यसबाट प्रमाणीकरण पहिचानका लागि सञ्चयकर्ताहरू कोषमा भौतिकरूपमा उपस्थित हुनुपर्ने झन्झट समेत अन्त्य भएको छ ।
यसैगरी, कोषको सेवा प्रणालीलाई पूर्णरूपमा डिजिटल माध्यममा रूपान्तरण गर्न र सञ्चयकर्ता प्रमाणीकरण सम्वन्धी सेवालाई थप छिटो, सहज, भरपर्दो तथा विश्वसनीय बनाउन सम्झौताबाट महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
साथै, सञ्चयकर्तालाई सेवा प्राप्त गर्दा लाग्ने समयको बचत हुनुका साथै प्रमाणीकरण सेवा प्रक्रियालाई थप पारदर्शी तथा विश्वनीय बनाई सञ्चयकर्ताको कोषसँगको कारोवार थप सुरक्षित हुने विश्वास गरिएको छ ।
यसैगरी, सम्झौता बमोजिम सञ्चयकर्ताको जनसाङ्खिक विवरण सम्बन्धी डाटा न्याशनल आइडेन्टीटी म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (एनआइडीएमआइएस) प्रणालीसँग कोषको प्रणाली एकीकरण गरी प्राप्त गर्न सक्ने व्यवस्था गरिनेछ । सोको लागि एनआइडीएमआइएससँग सुरक्षित र व्यवस्थितरूपमा डाटा आदान–प्रदान गर्न सक्ने प्राविधिक संरचना निर्माण गरिनेछ । यसले सेवाग्राहीको पहिचान प्रमाणीकरणलाई थप सहज, छिटो र विश्वसनीय बनाउनेछ ।
सम्झौता कार्यक्रममा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरेले कर्मचारी सञ्चय कोषसँगको सम्झौताबाट आधुनिक प्रविधिको उपयोग मार्फत सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन, नागरिकमैत्री शासन प्रणाली निर्माणमा योगदान पुर्याउन र डिजिटल नेपाल अभियानमा टेवा पुर्याउन योगदान पुग्ने विश्वास व्यक्त गरें।
कर्मचारी सञ्चय कोषका प्रशासक जितेन्द्र धितालले सूचना प्रणालीको एकीकरणबाट सरकारी तथा सार्वजनिक क्षेत्रका निकायहरूबीच समन्वय तथा साझेदारी बढाउन, सेवा प्रवाहमा दोहोरोपना हटाउन र दीर्घकालीनरूपमा कोषको लागत घटाउन तथा कार्यक्षमता बढाउन सहयोग पुग्ने बताए ।
कर्मचारी सञ्चय कोष आधुनिक प्रविधि र पारदर्शी व्यवस्थापनको माध्यमबाट आगामी दिनमा आफ्ना सेवाग्राहीलाई अझ गुणस्तरीय र झन्झटमुक्त सेवा प्रदान गर्न प्रतिवद्ध रहँदै आएको छ ।

Leave a Reply