|
Getting your Trinity Audio player ready…
|
काठमाडौं, चैत २७ । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा युरी गागरीनको ऐतिहासिक योगदानको स्मरणमा आयोजना गरिएको तीन दिने कोस्मोनटिक्स महोत्सव सम्पन्न भएको छ ।
नेपाल रसिया साइन्स एण्ड टेक नोलजी सोसाइटी, स्क्वाड अफ चेन्ज मेकरस्, रुसी सदन तथा रुसी राजदुताबासको संयुक्तरुपमा चैत ८- १० गतेसम्म सम्म आयोजना गरिएको महोत्सव काठमाडौंमा शुक्रबार विविध कार्यक्रमहरूसहित सम्पन्न भएको हो।
महोत्सवको दोस्रो दिन मित्र कुञ्ज र रसियन हाउस इन काठमाडौको सहकार्यमा विचार गोष्ठी कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक डा. नन्दविक्रम अधिकारीले “नेपालको अन्तरिक्ष कार्यक्रम तथा नीतिको समयरेखा र यसको विश्व अन्तरिक्ष कार्यक्रममा स्थान” विषयमा प्रस्तुति दिएका थिए।
उनले नेपालको अन्तरिक्ष क्षेत्रको विकास, नीतिगत पहल तथा अन्तर्राष्ट्रिय परिप्रेक्ष्यबारे महत्वपूर्ण धारणा प्रस्तुत गरे । साथै, कार्यक्रममा अन्तरिक्ष इतिहाससम्बन्धी डकुमेन्ट्रीसमेत प्रदर्शन गरिएको थियो।
महोत्सवको अन्तिम दिन शुक्रबार बिहान रत्नपार्कस्थित युरी गगारिनको शालिकमा श्रद्धाञ्जली अर्पण गर्दै कार्यक्रमको सुरुवात गरिएको थियो।
नेपालस्थित रसियन दूतावासका कार्यवाहक राजदूत रिन्चेन राखशाएभले अन्तर्राष्ट्रिय कोस्मोनटिक्स दिवसको महत्व र अन्तरिक्ष अन्वेषणको प्रेरणाबारे प्रकाश पारिएको थियो।
त्यसपछि मुख्य कार्यक्रम रुसी सदनमा आयोजना गरिएको थियो, जहाँ करिब १०० जना विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा “ब्रह्माण्डको विशालता” तथा “अन्तरिक्ष यात्राको भविष्य” जस्ता विषयमा प्रस्तुति राखिएको थियो, जसले सहभागीहरूलाई अन्तरिक्ष विज्ञानको व्यापकता र सम्भावनाबारे जानकारी प्रदान गरेको थियो।
कार्यक्रम अन्तर्गत अन्तरक्रियात्मक प्रश्नोत्तरी तथा खेलकुद सत्रले विद्यार्थीहरूलाई सक्रिय सहभागिताका लागि प्रेरित गरेको थियो। साथै, अघिल्लो दिन सम्पन्न एयरोस्पेस तथा रकेट्री कार्यशालाका उत्कृष्ट सहभागीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा नेपालमा विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ मदनलाल श्रेष्ठले नेपालमा विज्ञान तथा प्रविधि शिक्षाको बढ्दो महत्वलाई जोड दिँदै युवा पुस्तालाई अनुसन्धान, नवप्रवर्तन तथा सिर्जनशील सोचतर्फ अग्रसर हुन प्रेरित गरें । उनले अन्तरिक्ष विज्ञान क्षेत्रमा नेपालको सहभागिता विस्तार गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उल्लेख गरें ।
यसै अवसरमा “पृथ्वीभन्दा परको विरासत: युरी गगारिनको ऐतिहासिक अन्तरिक्ष यात्राको ६५ वर्ष” शीर्षकमा प्रदर्शनीसमेत रुसी सदनमा सार्वजनिक अवलोकनका लागि प्रस्तुत गरिएको थियो । जसले युरी गगारिनको जीवन, उपलब्धि तथा अन्तरिक्ष अन्वेषणमा रूसको ऐतिहासिक योगदानबारे जानकारी प्रस्तुत गरिएको छ।
पहिलो दिनको कार्यक्रममा विद्यार्थीहरुका लागि रकेट विज्ञानसम्बन्धी प्रारम्भिक सत्र, मोडेल रकेट निर्माण अभ्यास, खुला रकेट सफ्टवेयरमार्फत सिमुलेसन तालिम र सुरक्षा मापदण्ड पालना गर्दै व्यवहारिक रकेट प्रक्षेपणसम्बन्धी कार्यशाला गरिएको थियो ।
विशाल मिलनकेन्द्र र काठमाण्डौं महानगरपालिका वडा ४सँग सहकार्यमा आयोजना गरिएको कार्यशालामा काठमाण्डौं उपत्यकाका विभिन्न विद्यालयका २५ जना विद्यार्थी सहभागी भएका थिए ।
विद्यार्थीहरूले समूहगत रूपमा आफ्नै मोडेल रकेट डिजाइन, निर्माण र परीक्षण गर्दै सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक अनुभवसमेत हासिल गरेका स्क्वाड अफ चेन्ज मेकर्सले जनाएको छ ।
कार्यक्रमको उद्देश्य युवा विद्यार्थीलाई एयरोस्पेस विज्ञानका आधारभूत सिद्धान्तबारे जानकारी दिनु र अन्तरिक्ष अन्वेषणप्रति उनीहरूको जिज्ञासा अभिवृद्धि गर्नु रहेको थियो।
पहिलो दिनको कार्यक्रमले शिक्षा, नवप्रवर्तन र प्रेरणालाई समेट्दै महोत्सवको प्रभावकारी सुरुवात गरेको आयोजकहरूले बताएका छन्। यसले विद्यार्थीहरूलाई विज्ञान तथा अन्तरिक्ष प्रविधिका सम्भावनाहरू अन्वेषण गर्न उत्प्रेरित गरेको विश्वास लिइएको छ।















Leave a Reply