|
Getting your Trinity Audio player ready…
|

काठमाडौं, वैशाख १४। नेपाल मेडिकल कलेजमा स्नातकोत्तर (पिजी) तहमा भर्ना भएका विद्यार्थीहरूका लागि शैक्षिक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
बिहीबार आयोजित कार्यक्रममा एमडी, एमएम, एमडीएस, एमएस्सी नर्सिङ संकायका विद्यार्थीहरूलाई उत्प्रेरणामूलक अभिमुखीकरण प्रदान गरिएको हो ।
कार्यक्रममा कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षामा सफल हुन अनुशासनको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै स्नातकोत्तर अध्ययनका तीन वर्षले नै विद्यार्थीको भविष्य निर्धारण गर्ने बताए। उनले कडा मेहनत, लगनशीलता र विनम्रता राम्रो चिकित्सकका मुख्य गुण भएको उल्लेख गर्दै बिरामीसँगको व्यवहारले नै चिकित्सकको सफलता मापन हुने जिकीर गरे।
आफ्नो ५० वर्षअघिको भारतमा गरिएको स्नातकोत्तर अध्ययनको अनुभव स्मरण गर्दै अध्यक्ष अन्सारीले अहिले नेपालमै उच्च शिक्षा हासिल गर्ने अवसर उपलब्ध हुनु चिकित्सा शिक्षाको महत्वपूर्ण प्रगति भएको उल्लेख गरे।
त्यस्तै, कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले स्नातकोत्तर तहको तीन वर्ष सिकाइको अत्यन्त महत्वपूर्ण समय भएको बताए । “विद्यार्थीहरूले बिरामी, शिक्षक र सहकर्मीबाट निरन्तर सिक्नुपर्नेमा जोड दिँदै,” उनले भने, “विद्यार्थीकाे सिकाइका लागि कलेज सदैव सकारात्मक रहने छ ।”

Leave a Reply