चुरे दोहनले विपद् निम्त्याउँदै

रिभोसाइन्स संवाददाता

झापा– चुरे दोहन रोक्न सरकारले लागु गरेको भनिएको सुरक्षा उपाय निष्प्रभावी बनेपछि त्यसको असरले सर्वसाधारणको जीवन बर्बादी उन्मुख बनेको छ । छुनै नमिल्ने चुरे क्षेत्र खोतलेर दैनिक लाखौं घनमिटर निर्माण सामग्री निकाल्ने क्रम तीव्र छ, जसले प्राकृतिक असन्तुलन र विपद् निम्त्याइरहेको छ ।

कानुन कार्यान्वयन गर्ने दायित्व बोकेका सरकारी अधिकारी नै क्रसर सञ्चालक तथा ठेकेदारसँग मिल्दा निर्माण सामग्री निकाल्ने नाममा पूर्वको चुरे क्षेत्रको दोहन जारी छ । खोलानालामा जथाभावी गर्नेलाई सरकारी संरक्षणले उल्टै प्रोत्साहित गरिरहेको छ ।

पूर्वोत्तर झापाको शान्तिनगर चुरे दोहनले मारमा परेको सबैभन्दा ठूलो प्रमाण बोल्ने र देखिने ठाउँ हो । पहिले बाह्रैमास पानी चलिरहने पैनी अहिले बर्खाको भेलमा मात्रै भरिन्छ, अरु बेला कमिला दौडन्छन् । चार फिट अग्लो धारामा जति बेलै पनि आइरहने खानेपानी अहिले सातामा केही घन्टा मात्रै उपलब्ध छ । त्यो पनि धाराको पाइप भुइँमै लतार्दामात्र पानी आउने अवस्था छ ।

नजिकमा रहेका संवेदनशील संरचना जोखिममा पर्ने गरी खोला खोतल्ने क्रम रोकिएको छैन । यसले जिल्लाका हजारौं सर्वसाधारण जुनसुकै बेला विपद्को मुखमा पुग्ने जोखिम बढेको छ ।

पूर्व–पश्चिम राजमार्गको धुलाबारीस्थित चोकबाट आठ किलोमिटर उत्तरमा पर्ने बुद्धशान्ति गाउँपालिका–५ (साविक शान्तिनगर–४) को पछिल्लो अवस्थाको वर्णन हो यो । चुरेको जथाभावी र निरन्तर दोहनको भयावह दुष्परिणाम यहाँ प्रस्टै देख्न सकिन्छ । चुरे क्षेत्रमा अवस्थित टिमाई बगरमा वर्षौंदेखि चलेको दोहनले गाउँमा सिँचाइ र खानेपानीको स्रोत सुकेको छ ।

शान्तिनगर हुँदै बग्ने टिमाईको बगर क्षेत्रमा चलेको ठेकेदारको मनपरीले सयौं गाउँलेको उठिबास लाग्ने अवस्था आइलागेको पीडित बताउँछन् । कैयौंको खेतीयोग्य जमिन बगरमा परिणत भइरहेको छ । ‘खोलाबाट जथाभावी निर्माण समग्री निकाल्दा बगर गहिरिँदै गयो, किनार अग्लिँदै गयो,’ टिमाई किनारमै जमिन भएका स्थानीय विकल भट्टराई भन्छन् ‘अहिले दुई वर्ष भयो, पैनीमा पानी कसैगर्दा उठ्दैन । खेतबारीमा सिँचाइ गर्न झरी पर्खनुपर्छ ।’ उनका अनुसार गाउँको खानेपानीको प्रमुख स्रोत टिमाई खोला हो । तर, निरन्तर बगर खोतल्ने क्रमले खोलामा पानीको मात्रा स्वाट्टै घटेको छ । ‘केही वर्षअघिसम्म धारामा चौबीसै घन्टा पानी आउँथ्यो,’ भट्टराईले थपे, ‘अहिले सातामा तीन दिनभन्दा बढी निश्चित समयमा मात्रै धारामा पानी आउँछ ।’

पूर्वोत्तर झापाको शान्तिनगर तरकारी तथा अन्य नगदेबाली उत्पादनका लागि कहलिएको क्षेत्र हो । हात्ती आतंकको पर्यायजत्तिकै भइसकेको गाउँ केही वर्षयता तरकारी गाउँका नामले स्थापित हुँदै गएको छ । तर, पछिल्लो दुई वर्षभित्र गाउँका सयौं बिघा जमिन सिञ्चित हुने तीन वटा पैनीको मुहान भत्किए । खोलाको बगर जेसिबीले खोतलेर यति गहिरो बनेको छ कि, सानोतिनो प्रयासमा पानी उठाउने कल्पना नगरे पनि हुन्छ । ‘यहाँका तीन सय बिघाभन्दा बढी जमिन सिँचाइ हुने ढकाल गौंडा पैनी, पृथ्वीनारायण पैनी र झोडा जाने पैनी सुके,’ बुद्धशान्ति–५ का घनश्याम घिमिरेले भने ‘खोलाको बगरबाट पैनीको मुहानतिर हेर्ने हो भने भिर जत्तिकै अग्लो छ, यस्तोमा पानी उठाउन कल्पना नगरे हुन्छ । यो खोला दोहनले ल्याएको परिणाम हो ।’ उनका अनुसार साविक शान्तिनगरको ४, ५ र १ नम्बर वडाका ६ सय विघाभन्दा बढी खेतीयोग्य जमिन दुई वर्षयता पूर्णतः आकाशे पानीको भरमा छन्, जबकी जिल्ला कृषि विकास कार्यालयको अभिलेखमा यो ठाउँ ‘सिञ्चित’ क्षेत्रमा पर्छ ।

दुई वर्षअघिसम्म टिमाई बगरमा भुटानी शरणार्थी शिविर थियो । शरणार्थी तेस्रो देश पुनस्र्थापनामा गएपछि बगर पूरै खाली भयो । त्यसयता लगातार खोला खोतल्ने र ढुंगागिट्टी निकाल्ने क्रम जारी छ । जिल्ला विकास समिति (हाल जिल्ला समन्वय समिति) ले ठेक्का लगाउँदा १ दशमलब ५ मिटर गहिराईसम्म मात्रै खोतल्ने र बगरको ४४ मिटर चौडाई क्षेत्रसम्मको निर्माण सामग्री निकाल्न ठेकेदारलाई अनुमति दिएको हुन्छ । तर, झापाका अन्य खोलानालामा जस्तै यहाँ पनि त्यो वैधानिक सीमा मिचिएको छ । ‘टिमाई पुलदेखि १ किलोमिटर दक्षिणको दुरीसम्म साढे ३ मिटरभन्दा गहिरो पारेर ढुंगागिट्टी निकालेका छन्,’ खोला नजिकैका बासिन्दा बासुदेव राईले भने ‘खोला गहिरो भएर हरेक वर्ष हाम्रो घरखेत काटिरहेको छ । हामी सुकुम्बासी हुने अवस्थामा पुगेका छौं ।’

यस्तै समस्या बिरिङ खोला किनारमा पनि छ । खुदुनाबारी आसपासको बिरिङ खोलाको बगरबाट निर्माण सामग्री निकाल्ने ठेकेदारले जथाभावी गर्दा हजारौं सर्वसाधारण विस्थापनको खतरामा पुगेका छन् । खोला लगातार गहिरिएर गएपछि गाउँमा चल्दै आएका चारवटा सिँचाइ आयोजनाका पैनी दुई वर्षदेखि बन्द भएका छन् । गाउँका सयौं सर्वसाधारणको इनार र ट्युवेल सुकेका छन् । खानेपानी आयोजना बन्द हुने अवस्थामा पुगेको छ । खानेपानी र सिँचाइको स्रोत नै सुक्न थालेपछि स्थानीयको दैनिकी बिथोलिएको छ ।

पानीको सबैखाले स्रोत सुकेपछि पीडित स्थानीयले दर्जनौंपटक जिल्ला विकास समिति गुहारेर ठेकेदारको मनपरी रोकिदिन माग गरेका छन् । खोलाको बगरमा नियमित अनुगमन गरेर सम्झौता अनुसारको काम गराइदिन भनेका छन् । माग सुनुवाइ भएको भने छैन । गाउँ आसपासको दुई किलोमिटरभन्दा लामो बगर क्षेत्रमा अहिले गहिरो खाल्डैखाल्डा छन्, जसका कारण गाउँतिर खोलाको पानी सोझ्याउन असम्भव भएको छ । शनि–अर्जुनको पाँग्रे बाँधदेखि विन्दुली बाँधसम्मको बगरमा ३ मिटर गहिराइसम्म खोतलिएको छ । यसले यी दुवै पुराना बाँधसमेत भत्काउने जोखिम बढाएको छ । खोला गाउँ पस्ने त्रास बर्सेनि बढिरहेको छ ।

चुरे पर्वतको काखैमा रहेका झापाका शान्तिनगर र खुदुनाबारी सुक्खाग्रस्त क्षेत्र हुन् । यहाँका हजारौं बिघा जमिनका लागि नजिकैका खोलाको पानी नै सिँचाइको मुख्य स्रोत हो । तर, क्रसर उद्योगी र ठेकेदारले लगातार खोला गहि¥याएपछि त्यही स्रोत पनि बन्द हुँदै गएको छ ।

चुरे क्षेत्रमा वर्षौंदेखि चलिरहेको मनपरी रोक्न स्थानीय प्रशासन पूरै विफल बनेको छ । नाफाको लोभमा ठेकेदारले गरिरहेको प्राकृतिक स्रोत दोहनमा प्रशासनले पनि आँखा चिम्लिँदा ठेकेदारको दादागिरी बढेको हो । झापा र इलामको सीमा क्षेत्रको लामो भूभागमा वन–जंगल र नदीनालासहितको ठूलो प्राकृतिक स्रोत फैलिएको छ । चुरे नजिकैबाट क्रसर सञ्चालक तथा खोलानालाका ठेकेदारले बालुवा, गिटी, ढुंगा खोतलिरहेका छन् । ‘चुरे संरक्षणका नाममा हल्लाखल्ला ठूलो भयो,’ चुरे क्षेत्रमै पर्ने दक्षिण इलामको दानाबारी–२ का लक्ष्मण राई भन्छन्, ‘झापाबाट इलामको फेदीमै आएर ढुंगा खोतल्ने काम निर्वाध चलिरहेको छ ।’ उनका अनुसार स्थानीय प्रशासनसँग मिलेर क्रसर सञ्चालकले चुरे दोहन जारी राखेका छन् ।
रोकछेक गर्ने कोही छैन । त्यसो त खोलानालामा पनि मनपरी कम्ती छैन । मेची, निन्दा, रतुवा, मावा, विरिङ र टाङटिङ नदी झापामा निर्माण सामग्री निकाल्न प्रयोग हुने ठूला स्रोत हुन् ।

अहिले समन्वय समितिमा परिणत जिविसको वार्षिक रूपमा हुने आन्तरिक आयको आधाभन्दा बढी हिस्सा व्यहोर्ने स्रोत यी खोलाका निर्माण सामग्री हुन् । आयको लोभमा जिविस तथा प्रशासन कार्यालय मौन बसिदिँदा ठेकेदारले मनपरी चलाउने अवसर पाएका हुन् । निन्दा र बिरिङ खोलाको पुल उत्तर छुनै नपाइने व्यवस्था जिविसले गरेको छ । तर, अहिले पनि सयौं ट्रयाक्टर तथा टिपरले ती खोलाका पुल उत्तरबाटै दैनिक निर्माण सामग्री निकालिरहेका छन् । दैनिक २ सय ५० घन मिटर अन्य खोलाका लागि र बिरिङका लागि ५ सय घनमिटर भनेर सरकारी पक्षले मापदण्ड तोकेको छ । तर, यसको अनुगमन कतैबाट हुँदैन । त्यही भएर जथाभावी चलिरहेको छ ।

ठेकेदारले खोलानालाबाट निर्माण सामग्री झिक्दा प्रचलित ऐन मिच्ने, स्थानीयको खेतीयोग्य जमिनबाट निर्माण सामग्री निकाल्ने र खोला नजिकमा रहेका संवेदनशील संरचना जोखिममा पर्ने गरी खोला खोतल्ने क्रम रोकिएको छैन । यसले जिल्लाका हजारौं सर्वसाधारण जुनसुकै बेला विपद्को मुखमा पुग्ने जोखिम बढेको छ । सँगै राजमार्ग, पुल तथा सिँचाइजस्ता संवेदनशील संरचना पनि जोखिममा परेका छन् ।

समस्या कुनै एउटामा मात्रै छैन । निर्माण सामग्री निकालिने प्रत्येक खोला किनारमा समस्या उही छ । यसलाई स्थानीय प्रशासनले पनि सामान्य रूपमा लिने गरेको छ, जसका कारण धेरै जनताले प्रत्यक्ष फाइदा लिनसक्ने संरचना धरापमा परेका छन् । छुनै नपाइने भनिएको पुल क्षेत्र पनि सुरक्षित छैन । जिल्लाको पूर्वी सीमा काँकडभिट्टादेखि पश्चिम मावा खोलासम्ममा ८ वटा खोला निर्माण सामग्री निकाल्न योग्य मानिन्छन् । खोलाबाट आम्दानी लिने निकायले त्यहाँका महत्वपूर्ण संरचनाको सुरक्षामा भने चासो दिएका छैनन् । पुलको ५ सय मिटर नजिकबाट केही निकाल्न नपाइने नियम पालना नहुँदा यी खोलाका पुल जोखिममा छन् । सरकारी निकायका अधिकारी नै यो तथ्य स्वीकार गर्छन् । ‘सबैतिर हामी पुग्न सम्भव हुँदैन,’ जिल्ला समन्वय समितिका वातावरण विभागका अधिकृत ज्ञानेन्द्र चौधरी भन्छन् ‘प्रहरीले त्यस्ता ठाउँमा नजर राख्नु पर्ने हो ।’ तर, प्रहरी भने आफूले नियन्त्रणमा लिए पनि समन्वय समितिका कर्मचारीले छाड्न दबाब दिने गरेको बताउँछन् । यसरी सरकारी निकायबीचकै समन्वय अभाव पनि चुरे दोहन बढाउन कारक बनिरहेको छ ।