जडीबुटीको अपार भण्डार

 इलामको माइमझुवास्थित बुधबारे बजारमा चिराइतो बिक्रीका लागि गाडीमा लोड गरिँदै ।

किसानले ठाउँअनुसार चिराइतो, ओखेआलु, लौठसल्ला, लोक्ता, सुगन्धवाल, चमेली, सेतो बिखमा, कुरिलो, सतुवा, मजिटो, इन्द्रेणी बिया, नागबेली पाउडर, विषजरा र चिराइतोको बीउ उत्पादन गर्छन्

रिभोसाइन्स संवाददाता
इलाम–इलामको सन्दकपुर गाउँपालिका–४, माबुका पेमग्लाल्जे शेर्पा ७ वर्षअघिसम्म आफ्नो जमिनमा मकै, कोदो, मटर, आलु र अलैंची लगाउँथे । तर, बँदेल, बाँदर, भालु र कागजस्ता पशुपन्छीले आफूले सय रोपनी हाराहारी जमिनमा लगाएको बाली घर भिœयाउन दिएनन् । जंगलमा लगाएको अलैंची पनि जुर्जुरे, छिर्केफुर्के र गानो कुहिने रोगले सखापै बनायो ।

जमिन खेतीयोग्य भएपनि भरपुर आम्दानी लिन नसकेपछि उनले आफ्नो जमिनमा जडीबुटी लगाउने योजना बनाए । उनले आफ्नो आधाजति जमिनमा चिराइलो, ओखेआलु, सुगन्धवाल, पाँचऔंले र सतुवाजस्ता जडीबुटी लगाए । अब उनलाई आफ्नो बालीनाली जंगली जनावरले खाइदिने डर त भएन नै, रोगकीराको आक्रमणले पनि नछुने ढुक्क भयो । उनका अनुसार जडीबुटी खेती गर्दा २०/३० हजार रुपैयाँ लगानी भयो । तर, त्यसको दुई वर्षपछिदेखि आफूलाई हुन थालेको आम्दानीबाट ढुक्क छन् । ‘बुद्धि नपुगेर वर्षाैंसम्म जमिन खेर फालिएछ,’ उनी अहिले पछुताउँछन्, ‘आजभन्दा २० वर्षअघि नै जडीबुटी खेती गर्ने बुद्धि आएको भए करोडपति भइसकिनेरहेछ ।’

पेमग्याल्जेले पेमग्याल्जेले आफ्नो ५० रोपनीमा लगाएको चिराइतोबाट मात्रै एकै वर्ष ६० मन (प्रतिमत ४० किलो) सम्म उत्पादन गरे । र, त्यसको बिक्रीबाट १२ लाख रुपैयाँसम्म आम्दानी गरे । ‘सतुवा, ओखेआलु र अन्य जडीबुटीबाट पनि त्यही हाराहारी आम्दानी भयो होला,’ उनले सुनाए । सन्दकपुर गाउँपालिका–५ जमुनाका ग्याल्बु शेर्पा पनि आफूले गरेको जडीबुटी खेतीमा सन्तुष्ट छन् । उनले पनि ३० रोपनीमा गरेको खेतीबाट वर्षमा ८ लाख रुपैयाँसम्मको चिराइतो बेचे । उनी इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, भोजपुर, धादिङ, सिन्धुपाल्चोक, धनकुटालगायत जिल्लामा जडीबुटी खेतीको तालिम दिनसमेत पुगिरहन्छन् । चिराइतोको बीउ आफैं उत्पादन गर्छन् । ‘जडीबुटी खेती गर्ने सिजनमा घर बस्नै भ्याउँदिनँ,’ उनी जडीबुटी किसान र प्राविधिकका रूपमा आफ्नो व्यस्तता सुनाउँछन्, ‘कहिले कहाँबाट कहिले कहाँबाट जडीबुटीको बीउ मगाउने र तालिम दिन बोलाउनेको लहर नै लाग्छ ।’

इलामको देउराली बजारमा सुकाइएको चिराइतो ।

उच्च आम्दानी मात्र होइन, लेकाली क्षेत्रको सुरक्षित बालीका रूपमा जडीबुटी खेतीका इलाम, पाँचथर र ताप्लेजुङका १७ हजार किसान व्यावसायिक बनिसकेका छन् । जंगली जनावरले नखाने र नष्ट नगर्ने जडीबुटी खेतीमा अन्य बालीको तुलनामा परिश्रम पनि कम लाग्ने भएपछि किसानले यसको खेती व्यावसायिक बनाएका हुन् । उनीहरूले लगाएको जडीबुटीमा रासायनिक मल, विषादी र अन्य कुनैपनि किसिमको कृत्रिम वस्तुसमेत प्रयोग गर्नुपर्दैन । ‘जंगलमा बीउ रोपिदिएपछि कुनैपनि जडीबुटीलाई रासायनिक मल, विषादीजस्ता कृत्रिम वस्तु आवश्यक पर्दैन,’ माइपोखरी गाउँका जडीबुटी किसान युवराज पौडेल भन्छन्, ‘बीउ लगाएपछि यहाँको हावापानीमा जडीबुटी आफैं फस्टाउँछ, लहलह आउँछ ।’

इलामका माबु, जुमना, माइमझुवा, प्याङ, सुलुबुङ, माइपोखरी, जोगमाई र नयाँबजार, पुवामझुवालगायत गाउँका किसान जडीबुटीको व्यावसायिक खेती गरिरहेका छन् । पाँचथरको सिदिन, प्राङबुङ, मेमेङ, च्याङ्थापु र फलैंचा तथा ताप्लेजुङका सुरुङ्खिम र कालिखोला गाउँमा जडीबुुटीको व्यावसायिक खेती फस्टाएको सम्बन्धित जिल्ला वन कार्यालयले जनाएका छन् ।

जडीबुटी खेतीका कारण अव्यवस्थित चरिचरन नियन्त्रण भएको छ । भारतीय सीमावर्ती क्षेत्रमा रहेका तीनै जिल्लाका लेकाली गाउँबाट हुने वनजन्य चोरी–निकासी पनि कम हुँदैछ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियसहित जिल्लास्तरका सरोकारवाला सामाजिक संघ–संस्थाले किसानलाई जडीबुटी खेतीमा सहयोग गरिरहेका छन् । दुई हजार मिटरभन्दा माथिका पहाडी क्षेत्रका किसानलाई जिल्ला वन कार्यालयलगायतका गैरसरकारी संघ–संस्थाले जडीबुटी खेतीबारे तालिम दिएका छन् । ‘हामीलाई जडीबुटीको तालिम दिइएको छ, जडीबुटी सप्रिएका जिल्लातिर अवलोकन भ्रमण पनि गराइएको छ,’ माइमझुवा गाउँका किसान जितबहादुर राई भन्छन्, ‘प्राविधिक ज्ञान लिएपछि र अर्काले सपारेको खेती हेरेपछि निकै आइडिया आउँदोरहेछ ।’

किसानले ठाउँअनुसार चिराइतो, ओखेआलु, लौठसल्ला, लोक्ता, सुगन्धवाल, चमेली, सेतो बिखमा, कुरिलो, सतुवा, मजिटो, इन्द्रेणी बिया, नागबेली पाउडर, विषजरा र चिराइतोको बीउ उत्पादन गर्छन् । यीमध्ये सबैभन्दा बढी (करिब ८५ प्रतिशत) उत्पादन र बिक्री हुने चिराइतो नै छ । त्यसपछि सतुवा, बिखमा, इन्द्रेणी बियाँ, नागबेली पाउडर, विषजरालगायतको उत्पादन भइरहेको छ ।

 इलामको जमुनामा चिराइलो गोडमेल गर्दै किसान ।

प्रत्येक किसानले जडीबुटी बिक्रीबाट बर्सेनि ५० हजारदेखि २२ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । इलामका १६ गाउँका किसानले मात्रै जडीबुटी बेचेर गत आर्थिक वर्ष २०७२/०७३ मा १७ करोड २८ लाख १७ हजार ४ सय रुपैयाँ आम्दानी गरेको तथ्यांक जिल्ला वन कार्यालयसँग छ । पाँचथर र ताप्लेजुङमा पनि यही हाराहारीमा किसानले जडीबुटी उत्पादन र बिक्री गरिरहेको ती जिल्लामा जडीबुटी उत्पादनमा सहयोग गरिरहेको पाँचथरको दीपज्योति युवा क्लबले जनाएको छ । आव २०७३/०७४ को तथ्यांक भने आउन बाँकी नै रहेको इलामको अर्काे प्राविधिक सहयोगी संस्था उच्च पहाडी जडीबुटी उत्पादक तथा संरक्षण संस्थाका अध्यक्ष दीपक लुंगेलीले बताए । ३ जिल्लाको २५ हजारभन्दा बढी हेक्टरमा जडीबुटी खेती हुने गरेको छ ।

जडीबुटी लेकाली क्षेत्रका किसानका लागि आम्दानीको भरपर्दाे बाटो भएको वन कार्यालयको भनाइ छ । ‘लेकाली क्षेत्रमा अन्य बाली उत्पादनमा समस्या भइरहेको गुनासो थियो, जडीबुटी खेती हुन थालेपछि किसान पनि त्यसको आम्दानीतिर लोभिएका छन्,’ जिल्ला वन अधिकृत भरतबाबु श्रेष्ठले भने, ‘अन्य बाली उत्पादन नहुने पाखामा पनि जडीबुटी राम्ररी फस्टाउने भएकाले किसानलाई यसको खेती सजिलो भएको छ ।’

सबैभन्दा बढी खेती गरिने चिराइतो ५ सयदेखि साढे ९ सय रुपैयाँ प्रतिकिलोसम्ममा बिक्री हुने गरेको छ । चिराइतोको १ किलो बीउको मूल्य भने ८ हजार रुपैयाँसम्म पर्ने गरेको किसान बताउँछन् । जडीबुटी खेतीका लागि इलाममा ११ सहकारी संस्था स्थापना भएका छन् । यसको बिक्रीका लागि ८ स्थानमा डिपो राखिएको छ । डिपोमार्फत यहाँको जडीबुटी भारतका सिलिगुडी र बेङ्लोर निकासी हुन्छ । भारतमार्फत् तेस्रो मुलुक पनि जान्छ । केही परिमाणको जडीबुटी चीनतिर पनि निकासी हुने व्यापारी बताउँछन् ।

लेकाली भेगमा खेती भएको जडीबुटी अवलोकनका लागि सिजनमा धादिङ, रसुवा, संखुवासभा, खोटाङ, सोलुखुम्बु, सिन्धुपाल्चोकलगायतका जिल्लाबाट किसान र प्राविधिक आउने गरेका छन् । इलामको जडीबुटी खेती हेर्न आएका रसुवाको गत्लाङ–८ का किसान पासाङडेन्डुप तामाङले यहाँका घरपैपिच्छे किसानले जडीबुटी र अन्य खेती लगाएको देख्दा उनलाई अनौठोमात्रै नलागेर आफू पनि घर फर्किएर सतुवालगायत खेती विस्तार गर्ने निधो नै गरेको सुनाए । ‘एकै किसानले चिराइतो, सतुवा, ओखेआलु, लौठसल्ला सबैजसो खेती गरेका रहेछन्,’ उनले भने, ‘म पनि किसान हुँ तर यहाँका किसानको जस्तो जाँगर अन्त देखेको थिइनँ ।’

तामाङ पनि रसुवामा चिराइतो खेती गरिरहेका छन् । तर, रसुवाभन्दा इलामका किसानले गरेको खेती चाहिँ उनका लागि प्रेरणादायी बन्यो । मेहनतले गरेको जडीबुटी खेतीबाट किसानले गरेको आम्दानीले उनलाई लोभ्यायो पनि । ‘हाम्रोतिर (रसुवा) त थोरै छ । यता चाहिँ जडीबुटी खेती पूरै व्यावसायिक भइसकेको रहेछ,’ उनले भने, ‘यहाँ देखेको किसानको जाँगर उताका किसानलाई पनि सुनाउँछौं र जडीबुटी खेतीमा अझ प्रेरित गर्छाैं ।’

त्यही टोलीमा आएकी धादिङको तिप्लिङ गाउँकी कमला घलेलाई पनि इलामको लेकाली क्षेत्रका किसानले गरेको जडीबुटी खेतीले लोभ्यायो । उनलाई यहाँको भौगोलिक सौन्दर्य र जडीबुटी किसानको मेहनतले खेती गर्न हौसला दियो । ‘घरैपिच्छेका किसान मेहनती रहेछन्, अन्य बाली नहुने ठाउँमा पनि जडीबुटी खेती गरेर लाखौं रुपैयाँ आम्दानी गरेका रहेछन्,’ उनले भनिन्, ‘मेहनत र जाँगर भए पैसा कमाउन सकिने रहेछ भन्ने सिक्यौं । गाउँ फर्किएर छिमेकीलाई यही अनुभव बताउँछौं ।’ उनी गाउँको स्थानीय कृषि सहकारी संस्थामा समेत आबद्ध रहिछन् ।

‘हामीलाई चाहिँ जडीबुटी बेच्नै समस्या छ,’ तामाङले भने, ‘तिब्बत लगेर बेच्न मिल्दैन, काठमाडौं पु¥याउन ढुवानी खर्च धेरै लाग्छ ।’ उनले ४ हजार ७ सय बोट सतुवासमेत खेती गरेको सुनाए । तर, इलाम र रसुवामा खेती हुने सतुवा फरक गुणस्तरको भएकाले यहाँको बिरुवा उता लगेर रोप्न लागेको उनको भनाइ छ । ‘पहिला आलु, मकैजस्ता खेती गथ्र्यौं,’ उनले भने, ‘अहिले आम्दनी धेरै हुने भएपनि जडीबुटीतिरै लागेका छौं ।’ वन कार्यालयले जडीबुटी उत्पादन गर्ने र बेच्ने साढे ४ सय हाराहारी किसानलाई परिचयपत्रसमेत दिएको छ । परिचयपत्र पाउने किसानलाई जडीबुटी बेच्दा प्रतिकिलो १५ रुपैयाँ बुझाउनुपर्ने राजस्व छुट हुन्छ ।

ट्रेडमार्क समस्या
किसानले गतवर्षहरूभन्दा यो वर्ष चाहिँ जडीबुटीको भाउ कम भएको गुनासो गरेका छन् । जडीबुटी किन्न व्यापारी नआएको उनीहरूले बताए । ‘चिराइतो किन्न व्यापारी आएनन्, पहिला घरघरै आउने व्यापारी अहिले बोलाउँदासमेत आउन छाडेका छन्,’ सुलुबुङ गाउँका अगुवा किसान दिनेश सुवेदीले भने, ‘पहिला यसको माग र बिक्री राम्रो थियो, गाउँमा जडीबुटी खेती गर्न किसानलाई हामीले नै सहयोग पनि ग¥यौं । अहिले बिक्न छाड्यो ।’

भारतले पछिल्लो सयम अलैंची, अदुवा, कुचो, मटरजस्तै जडीबुडी आयातमा समेत कडाइ गर्न थालेको व्यापारी बताउँछन् । ‘पहिला भारतबाटै यसको धेरै माग आउँथ्यो, मूल्य पनि धेरै थियो,’ व्यापारी ओम गुरुङले भने, ‘अचेल उनीहरूले सम्पर्कै गर्न छाडे ।’

आफ्नै अन्तर्राष्ट्रिय लोगो (ट्रेडमार्क) नहुँदा चाहिँ किसानले जडीबुटी उत्पादनबाट बढी आम्दानी गर्न नसकेका हुन् । व्यावसायिक रूपमा उत्पादन हुने जडीबुटी तेस्रो मुलुक निर्यात गर्न सरकारले चासो नदेखाउँदा आफूहरूको आम्दानी बढ्न नसकेको किसानको गुनासो छ । जडीबुटी किसान देउकुमार राई भन्छन्, ‘यहाँ उत्पादित जडीबुटी सबै अर्गानिक हुन् । यो उत्पादनको अन्तर्राष्ट्रिय लोगो बनाएर गुणस्तर प्रमाणित गर्नसके तेस्रो मुलुकमा यसले अझ राम्रो मूल्य पाउने थियो ।’