शतव्दीकै लामो खग्रास चन्द्रग्रहण

खग्रास चन्द्रग्रहणका बेला चन्द्रमा पुरै तामा रंगमा देख्न सकिन्छ I

 काठमाडौं । शातव्दीकै लामो खग्रास चन्द्रग्रहण शुक्रबार राती देख्न सकिने छ । खागोलशास्त्रीहरुका अनुसार खग्रास चन्द्र ग्रहण करीब १ घण्टा ४३ मिनेट सम्म पृथ्वीबाट अवलोकन गर्न सकिन्छ ।

नेपाली समय अनुसार करीब १२ बजेर ९ मिनेट जाँदा चन्द्रमामा पृथ्वीको छाँया पर्न सुरु हुनेछ । यसरी छाँयाले ढाकिदै जाँदा रातको १ बजेर १५ मिनेट जाँदा पूर्ण रुपमा ढाक्ने छ  I यो अवधिलाई अवधिलाई खग्रास भनिन्छ I जुन २ बजेर ५८ मिनेट सम्म रहनेछ । यतिखेर तपाईहरुले चन्द्रमालाई तामा रंगमा देख्न सक्नु हुनेछ I त्यसपछि ग्रहण क्रमश: कम हुदै राति ४ बजेर ४ मिनेट जाँदा समाप्त हुनेछ ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले खग्रास चन्द्र ग्रहण नाङ्गो आँखाले अवलोकन गर्न सकिने बताएका छन् । उनका अनुसार चन्द्रग्रहण अवलोकन गर्दा कुनै हानी नोक्सानी हुँदैन I

नेपाल सरकार जल तथा मौसम विभागले खग्रास चन्द्र ग्रहण लक्षित गरी साँझ ६ बजेदेखि विहानी ६ बजे सम्मको मौसम पूर्वानुमान गरेको छ । मौसम विभागले काठमाडौँ, दीपायल र पोखरामा सामान्य वर्षा हुने सम्भावना र बिरेन्द्रनगर तथा धरान सामान्य वा मध्यम वर्षा हुने सम्भावना पूवानुमान गरेको छ ।

चन्द्र ग्रहण कसरी हुन्छ ॽ

पृथ्वीले सूर्यलाई परिक्रमा गरिरहँदा चन्द्रमाले पनि पृथ्वीलाई परिक्रमा गरिरहेको हुन्छ। यस क्रममा पृथ्वी जब सूर्य र चन्द्रमाको बीचमा पर्न जान्छ, तव पृथ्वीको छाँया चन्द्रमामा पर्दछ।

चन्द्रमाको आफ्नो प्रकाश नभएका कारण पृथ्वीको उक्त छाँयाले चन्द्रमा छेकिदिन्छ, जसलाई चन्द्रग्रहण भनिन्छ।

सूर्य, पृथ्वी र चन्द्रमा पुर्णिमा वा औंसीको समयमा एउटै सरल रेखामा पर्न सक्ने भए पनि सबै पूर्णिमा चन्द्रग्रहण सम्भव हुदैन किनभने चन्द्रमाको कक्षीय धरातलले पृथ्वीको कक्षीय धरातलमा करिब ५ डिग्रीको कोण बनाएको हुन्छ।