प्रदेश १ स्तरीय अनलाइन हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

विराटनगर । प्रदेश १ स्तरीय ‘विज्ञानको ज्ञान हाम्रो खोज’ अनलाइन हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । आठौ विज्ञान दिवसको अवसरमा विज्ञान शिक्षक समाज नेपाल (स्टान) प्रदेश १ ले हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको हो ।

अनलाइन मार्फत् आयोजना गरिएको प्रतियोगितामा प्रदेश १ का ७० सरकारी तथा निजी विद्यालयको सहभागीता रहेको समाजले जनाएको छ । कोरोना भाइरस ‘कोभिड१९’को प्रकोपका कारण अनलाइन हाजिरी जवाफ प्रतियोगिता गरिएको विज्ञान शिक्षक समाज नेपाल (स्टान) प्रदेश १ का संयोजक अभय लिम्भूले रिभोसाइन्सलाई बताए ।

उनका अनुसार अनलाइन हाजिरी जवाफ प्रतियोगितामा विराटनगरका बाल कल्याण विद्या मन्दिरले प्रथम स्थान हासिल गरेको छ । त्यसैगरी दोस्रो र तेस्रोमा क्रमशः विर्तामोडको देवि माध्यामिक विद्यालय र मोरङ सुन्दर हरैचाको स्कोलार्स होम रहेको छ । सान्तोना पुरस्कार मोर्डन इरा स्कूलले प्राप्त गरेको छ ।

अनलाइन हाजिरी जवाफ प्रतियोगितामा पूर्व विज्ञान तथा प्रविधि मन्त्री इं. गणेश साह, स्टानको केन्द्रिय अध्यक्ष खिलकुमार प्रधान, प्राणिशास्त्री प्राडा रामबहादुर थापा र नेपाल भौतिकशास्त्र समाज (प्रदेश१) का अध्यक्ष प्राडा देवेन्द्र अधिकारीको उपस्थिति रहेको स्टान प्रदेश १ का संयोजक अभय लिम्वुले बताए ।