‘वन्यजन्तु अभिभावकत्व’ कार्यक्रमको शुभारम्भ

रिभोसाइन्स संवाददाता

ललितपुर । राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)ले सदर चिडियाखाना व्यवस्थापन गरेको रजत महोत्सव तथा विश्व वन्यजन्तु दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्माओलीले वन्यजन्तु अभिभावकत्व (एडप एन एनिमल) कार्यक्रमको शुभाराम्भ गरेको छ ।

सदर चिडियाखानामा रहेका १२ प्रकारका जनावरलाई वन्यजन्तु अभिभावकत्व कार्यक्रममा समावेश गरेको छ । प्रधानमन्त्री ओलीले एकसिंगे गैडालाई अभिभावकत्व प्रदान गरेको छ । ‘कोभिड१९’ पछि चिडियाखानामा पारेको प्रभावपछि वन्यजन्तु अभिभावकत्व कार्यक्रम ल्याइएको एनटीएनसीले जनाएको छ ।

यसरी वन्यजन्तु अभिभावकत्व ग्रहण गर्न चाहेमा एकसिङ्गे गैडा, एशियन हात्ति र वाघलाई वार्षिक खाना खर्च बराबर प्रत्येकलाई १५ लाख तोकिएको छ । जलगैडा ‘हिप्पोपटामस’लाई १२ लाख,  चिम्पाङ्जीलाई १० लाख,  भालुलाई ५ लाख,  घडियाल गोहीलाई ३ लाख ५० हजार,  रेड पाण्डालाई २ लाख ५० हजार  र डाँफे र सारसलाई ७५ हजार रकम तोकिएको छ ।

सुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले चिडियाखाना साँघुरो भएकाले फराकिलो स्थानमा सार्ने योजना भएको बताए । यसरी फराकिलो स्थानमा सार्दा वाघ वा अन्य जनावरलाई रोग नसर्ने र जनावरमा भएको रोग मानिसमा नसर्ने प्रधानमन्त्री ओलीले भने, ‘जनावरलाई खाना खान दिन मनलागेमा डिजिटल रुपमा आर्थिक सहयोग गर्न सक्नुहुनेछ ।’ मानिस र जनावरबीच सम्वन्ध प्रगाढ भएकोले बालबालिकालाई चिडियाखानामै विज्ञसहितको जानकारी दिने कक्षसमेत हुनु पर्ने प्रधानमन्त्री ओलीले औल्याए ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले एनटीएनसीले अन्नपूर्ण, मनास्लु र गौरीशंकर क्षेत्रको संरक्षण गर्दै आइरहेको बताए । सर्वसाधरणको अवलोकनबाट नाफामा रहेको सदर चिडियाखाना कोभिडपछि घाटामा गएको मन्त्रालयका सचिव डा. ओलीले उल्लेख गरें ।

अहिले चिडियाखानको लागि छ हेक्टरको जमिन उपलब्ध छ । जनावरको लागि क्षेत्रफल कम भएकोले भक्तपुरको सूर्यविनायकमा करिब २ सय ४५ हेक्टर क्षेत्रमा सार्ने भनेर प्रधानमन्त्री ओलीले सिलान्यास गरिसकेको छ ।

चिडियाखानामा इ-टिकटिङको लागू गरिएको एनटीएनसीले जनाएको छ । सुभारम्भको अवसरमा प्रधानमन्त्री ओली सदरचिडियाखानामा रहेको वाघ, भालु र चिम्पाञ्जीजस्ता जनावरको अवलोकन गरेका थिए ।

विश्वको कुल भू-भागमध्य ३१ प्रतिशत वनले ढाकेको छ । त्यसको १८ प्रतिशत संरक्षित क्षेत्र रहेका छन् । नेपालको ४५ प्रतिशत वन छन् । त्यसमध्य करिब २३ प्रतिशत संरक्षित क्षेत्र रहेका छन् ।