देशभरका चिकित्सा उपकरणको तथ्यांक दिने एमओटी वेबसाइट सुभारम्भ

-रिभोसाइन्स संवाददाता

काठमाडौं । देशभरका चिकित्सा उपकरणको एकै स्थानमा जानकारी दिने तथा विग्रेको उपकरणलाई तत्कालै मर्मत् गर्ने उद्देश्यले डिजिटल पोर्टल मिसन अक्सिजन टिम(एमओटी) सञ्चालनमा आएको छ ।

एमओटीले अस्पाताल तथा प्रयोगशालामा भएको उपकरणको तथ्यांक संकलन, मर्मत तथा मापन यन्त्र ठीक छ वा छैन भनेर जाच्ने तथा त्यसलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार मिलान (क्यालीव्रेसन) काम गर्ने जनाएको छ । एमओटीमा अहिलेसम्म तीन सय अस्पतालमा भएको अक्सिजन सिलिण्डर तथा कन्सेनट्रेटरजस्ता उपकरणको विवरण दर्ता गरिसकेको छ ।

एमओटीको वहुउपयोगी वेबसाइट भर्चुअलरुपमा उद्घाटन गर्दै प्रमुख अतिथि पूर्व वातावरण, विज्ञान तथा प्रविधि मन्त्री गणेश साहले भने, ‘नजिकिदो नवौं विज्ञान दिवसको अवसरमा एमओटी पोर्टल सञ्चालनमा आएको छ, यसकारण यस्ता गतिविधिलाई थप प्रभावकारी ढंगबाट सम्वोधन गर्न राज्यले विज्ञान तथा प्रविधिको क्षेत्रमा कूल ग्राहस्त उत्पादनको एक प्रतिशत लगानी गर्नु पर्दछ ।’ पूर्व मन्त्री साहले विज्ञान, प्रवधि र नवप्रवर्तनको क्षेत्रमा आएका एमओटीजस्ता कुराहरुमा राज्यले हातेमालो गर्नु पर्नेमा जोड दिएका छन् ।

कोभिडको दोस्रो लहरमा अस्पतालहरुमा भेन्टिलेटर तथा कन्सन्ट्रेटरको अभाव भएपछि देशभरका बायोमेडिकल इन्जिनियर, बायोटेक्नोलजी(जैविक प्रविधि), आइटी विशेषज्ञ तथा स्वास्थ्य विज्ञहरुको स्वस्फूर्तरुपमा संगठित भएर एमओटी गठन गरेको वायोटेक्नोलजी सोसाइटीका अध्यक्ष नविननारायण मुनकर्मीले बताए। ‘कुनै अस्पतालमा कन्सेनट्रेटर विग्रियो भने अस्पताल नजिक दुरीमा रहेका एमओटी आवद्ध वायोमेडिकल इन्जिनियरले तुरुन्त सम्पर्क गर्न सक्ने एमओटीका कन्ट्री डिरेक्टरसमेत रहेका मुनकर्मीले भने ।

एमओटीमा अहिलेसम्म देशभरबाट २५० जना सहायता सदस्य जोडिसकेका छन् । देशभरका ४३३ अक्सिजन कन्सेनट्रेटरको परिक्षण गरिसकेको र चार वटा विग्रेका उपकरणको मर्मत गरिसकेको रोवटिक्स एशोसियसन अफ नेपालका अध्यक्ष विकास गुरुङले प्रस्तुत गरें । एमओटीका कार्यकरी निर्देशकसमेत रहेका गुरुङले भने, ‘तुरुन्त समस्या समाधानका लागि एमओटी हटलाइनमा सम्पर्क गर्न सकिनेछ । यदि हतार नभएको अवस्थामा अनलाइन फाराम भरेर अनुरोध गर्न सकिन्छ ।’

कार्यक्रममा नेपाल स्वास्थ्य अनुसन्धान परिषद(एनएचआरसी)का सदस्य सचिव डा. प्रदिप ज्ञवालीले आइटीको माध्यमबाट देशभरका अस्पतालमा रहेको उपकरणको अवस्था थाहा पाउन सहयोग पुग्ने विश्वास गरें । एमओटीका लागि आंकडा उत्पादनमा सहयोग पुग्ने नमूना कार्यक्रम एनएचआरसीले छिटै सञ्चालन गर्ने सदस्य सचिव ज्ञवालीले बताए । एमओटीले वायोमेडिकल उपकरणको क्षेत्रमा सहायता कक्षको भूमीकामा काम गर्नेमा उनले आशा व्यक्त गरें ।

एमओटीका वेबसाइट निर्माणमा उल्लखनीय भूमिका खेलेका डेटा फर डिभलभमेन्टका कार्यक्रम निर्देशक सजना महर्जनले कोभिड माहामारीको समयमा कुन अस्पतालमा कस्ता सुविधा छन् भन्ने जानकारी हुँदैन्थ्यो । अक्सिजन नपाएर मानिसले अकालमा ज्यान गुमाउन परेको थियो । पुनः त्यस्तो नहोस् भनेर एमओटीको अवधारणामा आफूहरुले सहयोग गरेको महर्जनले बताइन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्टका प्राज्ञ डा. वुलन्द थापाले विमारीको जाँडपडताल गर्ने उपकरण सही भएन भने गलत तथ्यांक प्राप्त हुने बताए । ‘त्यसकारण स्वास्थ्य उपकरणको हरेक वर्ष मापन मिलाउन पर्ने हुन्छ । यदि त्यसरी मापन नमिलाइएको उपकरणले दिएको रिपोर्टका आधारमा विरामीलाई चिकित्सकले गलत उपचार गर्नेछ,’ डा. थापाले भने, ‘गलत रिपोर्टका कारण क्यान्सरै नभएका मानिसलाई क्यान्सर भएको पाइएको उदाहरण छन् ।’

उनले ‘आफू वीर अस्पतालको ट्रमा सेन्टरमा काम गर्दै गर्दा कुन उपकरण कहाँ कस्तो अवस्थामा छन् भन्नेसम्म समस्या भोगेको’ सुनाए ।

त्यसबेला पनि डा. वुलन्दले वेलायतबाट इन्जिनियर झिकाएर वीर अस्पतालमा कतिपय उपकरणको मापन ठीक गरेका थिए । यस्तो उपकरणको मापन वर्षको एक पटक प्रमाणित प्राविधिकबाट गर्नुपर्ने हुन्छ । यसरी नियमन गर्न सकेमात्र फरक-फरक प्रयोगशालाबाट आएको नतिजा एकै हुन्छ । यस विषयमा नेपालका नीति निर्माता तथा राजनीतिकर्मीले नवुझेकोमा डा. थापाले चिन्ता व्यक्त गरें ।

जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णप्रसाद मिजारले एमओटीको यस कार्यले स्थानीय तहमा भएका प्रयोगशालाका उपकरणहरुको मापन मिलान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरें । एमओटीले आफूहरुलाई सहयोग गर्ने आश्वसन पाएपछि जिल्लाभरको अस्पताल तथा स्वास्थ्य कार्यालयमा भएको उपकरणको आंकडा संकलन गरिरहेको मिजारले जानकारी दिए ।

‘नेपालका कतिपय अस्पतालका उपकरणहरु वर्षको एक पटक क्यालीव्रेसन मापन मिलान गरेको पाइदैन,’ पवन वायोसाइन्टिफिक सर्भिसका प्रमुख पवन कर्णले भने, ‘थप अस्पताल तथा प्रयोगशालाका उपकरण क्यालिव्रेसनमा अपरेटिङ शुल्क मात्र लिएर एमओटीलाई साथ दिदै आएको छ ।’

नेपाल नापतौल तथा गुणस्तर विभागले चिकित्सा उपकरण मापन मिलानमा प्रर्‍याप्त काम गर्न सकेको छैन । यसकारण नीतिगत तहदेखि सुधार गर्नु पर्नेमा वायोसाइन्टिफिक सर्भिसका प्रमुख कर्णले जोड दिएका छन् ।

एमओटी सञ्चालनका लागि नेतृत्वदायी भूमिकामा वायोटेक्नोलजी सोसाइटी नेपाल र रोवट्रिक्स एशोसिएसन अफ नेपाल छन् । त्यस्तै, एनएचअरसीले सहयात्रीको भूमिकामा छन् । एमओटीलाई हालसम्म एशिया फाउण्डेशन, डेटा फर डेभलभमेन्ट इन नेपाल र युके एडले सहायता गरेको जनाएको छ ।

नास्टका प्रविधि संकायका प्रमुख डा. रविन्द्रप्रसाद ढकालले एमओटी सञ्चालनको प्रशंसा गर्दै कार्यक्रम समापन गरेका थिए । एमओटी पोर्टल सुभारम्भ भर्चुअल कार्यक्रममा सारा बजीमयले सञ्चालन गरेका थिए भने नेपालमा कम्प्यूटर भित्र्याउन महत्वपूर्ण भूमिका खेलेका मुनी शाक्यले कार्यक्रमका अध्यक्षता गरेका थिए ।