नेपालभर भौतिक विज्ञानको दायरा फराकिलो पार्दैछौ

नेपाल भौतिक विज्ञान समाजका पहिलो महिला अध्यक्ष हुन्— प्रा. डा. निलम श्रेष्ठ प्रधान । उनी त्रिभुवन विश्वविद्यालय त्रि-चन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापक छिन । विगतमा उनले त्रि-चन्द्र क्याम्पस भौतिक शास्त्र विभागको विभागीय प्रमुख समालेको अनुभव छ ।

४० वर्ष अगाडि स्थापना गरिएको समाजमा यसअघि उनी तीन पटक कोषाध्यक्ष र एक पटक उपाध्यक्ष भैसकेको बताउँछिन् । काठमाडौँको केन्द्र मरु टोलमा जन्मेका उनी सरकारी विद्यालयबाट एसएलसी दिएर पनि स्वर्ण पदक हासिल गर्न सम्भव भएको बताउँछिन् । उनी भन्छिन्, ‘एसएलसी पछिको यात्रा त्रि-चन्द्र कलेज बन्यो र अहिले जागिरे जीवन पनि त्रि-चन्द्र कलेजमै ।’ अधिकांश छात्राले भरिभराउ हुने भौतिक शास्त्र समूहमा कम सङ्ख्यामा छात्राहरूले अध्ययन गर्ने अझै पनि कायम छ— त्रि-चन्द्रमा । त्रि-चन्द्र क्याम्पसमा विद्यार्थी काल र प्राध्यापकसमेतको दौरान चार दशक बिताइसकेकी निलम आफूलाई आँटिलो तथा दृढ स्वभाव भन्न रुचाउँछिन् । सन्दर्भमा, समाजमा तीन पटक कोषाध्यक्ष हुँदै अध्यक्ष भएकी उनै प्रा. डा. श्रेष्ठसँग रिभोसाइन्सले गरेको संक्षिप्त कुराकानीको संम्पादीत अंश:

तपाईँले भौतिक शास्त्र रोज्नुको पछाडि ?

पहिलो, कुन विषय अध्ययन गर्ने भन्ने मलाई त्यस बेला मेरो दाजुले सुझाव दिनुभएको थियो। दोस्रो, फिजिकल समूहमा महिला कम हुन्थ्यो । तथापि,  विज्ञान र गणितमा विशेष रुचि भएको कारणले रोजाइमा पर्‍यो।

तपाईँले अध्ययन गर्दा ताका कति हुन्थे विद्यार्थीहरू ?

त्रिचन्द्र क्याम्पसमा विद्यार्थीको चाप अन्यत्र भन्दा बढी थिए । तर छात्राहरूको सङ्ख्या भने कम थिए । त्यस बेला मसहित तीन जना भौतिक शास्त्रमा अध्ययन गरेको थियो ।

तपाईँले अध्यापन पेसा कति सालमा सुरु गर्नुभयो ?

मैले ०४० सालमा आइएस्सी सकाए । देशमा परिवर्तनको समय भएकोले मेरो पढाइ दुई वर्ष ढिला भयो । विएस्सी ०४२ मा सकाए । ०४४ सालमा त्रिविबाट एमएस्सी सकाए । त्यस लगतै, त्रिचन्द्र कलेजमा शिक्षिका बनेँ । त्यस बेला मैले स्नातकोत्तरको थिसिस सकेको थिइन । विद्यार्थीको चाप भएकोले छिट्टै कलेजमा अध्यापन गर्ने अवसर पाएँ।

सोसाइटीमा अध्यक्ष बन्ने इच्छा कसरी आयो ?

नेपाल फिजिकल सोसाइटीमा कोषाध्यक्ष पद महिलाको लागि छुट्याइएको रहेछ । महिला भन्ने वितिक्कै कोषाध्यक्ष भन्दा माथिल्लो पदमा काम गर्न सक्दैनन् भन्ने हुन सक्छ । तीन कार्यकाल लगातार कोषाध्यक्ष बनेँ । तर उपाध्यक्ष तथा अध्यक्ष बनाउने कुरा आएन ।

अनि मैले उपाध्यक्ष पदका लागि ०७५ सालमा चुनाउ लडे । चुनाउ जिते पनि। त्यस बेला महिलालाई उपाध्यक्ष खासै स्विकारेको जस्तो मलाई लागेन । पछि अध्यक्ष पदमा पनि चुनाउ लडे । तर चुनाउ हराइयो ।

कसरी हराइयो ?

जम्मा पाँच-सात भोटको कमीले हारे । विधानसम्मत नियम नै परिवर्तन गरेर चुनाउ हराइयो । यसबाट पनि महिला अगाडि बढ्न कठिन छ भन्ने बुझ्न सकिन्छ । यस कारण मैले भन्ने गरेको छु,  ‘महिलालाई कुनै काम गर्दा दुई पटक प्रमाणित गर्न पर्दछ ।’ पहिलो,  घरमा महिला भएर प्रमाणित गर्नुपर्दछ र महिलासँग प्रतिस्पर्धा गर्नुपर्दछ । दोस्रो, पुरुषसँग प्रतिस्पर्धा गरेर प्रमाणित गर्नुपर्दछ ।

तपाईँलाई काम गर्न अध्यक्ष पद किन चाहियो ?

म आँटिलो स्वभावको महिला हुँ । मलाई अध्यक्ष बनेर अन्तर्राष्ट्रिय सम्मेलन गर्न मन थियो । सोसाइटीको अध्यक्ष नभएपछि ओमन इन फिजिक्स’ संस्था खोले । त्यसपछि अन्तर्राष्ट्रिय सम्मेलन गरेँ । त्यसको दुई वर्षपछि सोसाइटीमा चुनाउ आयो । त्यसपछि अध्यक्ष बन्न प्रस्ताव गर्नु भयो । त्यसपछि निर्विरोध अध्यक्ष भएँ । त्यस कारण, कुने काम महिलाले दुई पटक प्रमाणित गर्नुपर्दछ भन्ने मेरो बुझाइ छ ।

सोसाइटी किन स्थापना गरेको रहेछ ?

नेपालमा भौतिक शास्त्र विषयमा दक्ष तथा नेतृत्व प्रदान गर्ने हो । विद्यार्थीहरूको वृत्ति विकासमा सहयोग गर्ने हो । पाठ्यक्रम निर्माणमा पनि सहयोग गर्ने हुन्छ । तर, यो काम गर्न त्यति सजिलो भने हुँदैन ।

किन ?

पहिलो,  कार्यालय नै व्यवस्थित छैन । त्रिचन्द्र कलेजले पहिलेदेखि एउटा कोठा दिएर राखेको स्थिति छ । अहिले कार्यालय भएको भवन जीर्णोद्धार गर्न लागिएको छ । दोस्रो, कार्यालय सञ्चालन गर्ने जनशक्ति पनि छैन । त्रिचन्द्र कलेजको नयाँ भवन बनेपछि पुनः पहिलेकै स्थानमा कार्यालय सञ्चालन गर्न दिने सहमति गरेको छु । कार्यालय नभएपछि इन्टरनेट सञ्जालसँग जोडिरहेर काम गर्ने अवस्था पनि हुँदैन ।

त्यसरी कसरी चल्छ त सोसाइटी ?

सोसाइटीको मुख्य आम्दानीको स्रोत भनेको आजीवन सदस्य हो । अहिलेसम्म ८४० आजीवन सदस्य छन् । विधानसम्मत साधारण सदस्यको चुनाउका बेला भोट हाल्ने र त्यसको अवधि एक वर्षको मात्रै हुन्छ । त्यसबाहेक, कसैले चन्दा दिएमा त्यो दोस्रो स्रोत हुन्छ ।

सोसाइटीको कार्यक्रम कसरी गरिँदै आएको छ ?

आजीवन सदस्यबाट सङ्कलित रकमलाई बैङ्कको मुद्दती खातामा राख्ने र त्यसबाट आएको व्याजबाट साधारण कार्यक्रम गरिन्छ । ठुला खालका कार्यक्रम गर्न दाता खोजिन्छ । त्यो कार्यक्रमको स्तरअनुसार वा सहकार्य गरेर काम गरिँदै आएको छ ।

अहिले, के कस्ता कार्यक्रम सञ्चालनमा छन् ?

नेपाल फिजिक्स ओलम्पियाड सञ्चालन नियमित हुँदैछ । स्वर्गीय भौतिकशास्त्रीहरुको स्मृति पुरस्कार प्रदान गरिँदै आएको छ । यो पुरस्कारका राशि पनि स्वर्गीय भौतिक शास्त्रका परिवार स्वयमले सोसाइटीको नाम रहेको बैङ्क खातामा रकम मुद्दतीमा जम्मा गरेर आएको व्याजले पुरस्कार वितरण गरिन्छ । यस वर्षको प्रा. डा. केदारलाल श्रेष्ठ स्मृति पुरस्कार,  प्रा. डा. शङ्करप्रसाद र सुदक्षिणा प्रधान स्मृति पुरस्कार र  प्रा. डा. केदार नाथ खनाल स्मृति पुरस्कार वितरण सोसाइटीको वार्षिक कार्यक्रममा सम्पन्न भएको छ।

त्यस्तै, मासिक रूपमा भौतिक शास्त्र विषयमा प्रवचन कार्यक्रम सञ्चालनमा छन् । त्यसबाहेक भौतिक शास्त्र विषयका विभिन्न विधामा कार्यक्रमहरू हुँदै आइरहेको छ। ‘एनपीएस जर्नल’ वर्ष ८ को पहिलो, दोस्रो र तेस्रो संस्करण प्रकाशन गरिसकेको र वर्ष ९ अंक १ प्रकाशन गर्ने तयारी हुँदैछ ।

सोसाइटीलेले नेपाल भौतिक विज्ञान ओलम्पियाड-२०२२मा उन्नाइस विद्यार्थीहरूलाई नेशनल च्याम्पियनको रूपमा छनोट गरेको थियो । त्यसबाट छनोटमा परेका पाँच विद्यार्थी जापानमा हुने अन्तर्राष्ट्रिय ओलम्पियाड २०२३मा सहभागी हुनेछन् । तर त्यसका लागि आवश्यक बजेट नहुँदा आ-आफ्नो खर्चमा सहभागी हुन पर्ने वाध्यात्मक परिस्थिति छ ।

भावी कार्यक्रम के-के छन् ?

अन्तर्राष्ट्रिय संस्था इन्टरनेशनल युनियन अफ प्योर एण्ड एप्लाइड फिजिक्स (आयूप्याप)सँग एशोसियट सदस्यता लिने काम मेरो पहलमा हुँदैछ । यो सदस्य लिनको लागि वार्षिक दुई हजार युरो तिर्ने पर्ने हुन्छ, त्यो तिर्न सक्ने अवस्था छैन । तर पनि एशोसियट मेम्वर दिने भन्ने कुरा भएको छ । त्यो सदस्य लिएपछि एउटा अन्तर्राष्ट्रिय कार्यक्रम सोसाइटीले आगामी सेप्टेम्बर २० देखि २३ सम्म अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा आयोजना हुनेछ । त्यसका लागि मैले आर्थिक सहयोगको अनुरोध गरेपछि आयूप्यापले ७ हजार युरो सहयोग दिने भएको हो ।

आयूप्यापको सहकार्यमा हुने ‘इन्टरनेशनल कन्फेरेन्स अन फिजिक्स फर सस्टेनेवल इनर्जी’ सम्मेलन पश्चात् भौतिक शास्त्र र ऊर्जाको विषयलाई नेपालमा उठान गरिनेछ । ऊर्जा क्षेत्रमा हुने गरेका समस्या माथि कसरी थप अध्ययन अनुसन्धान गरेर समस्या निराकरण गर्न सकिन्छ भन्ने कुरा प्राथमिकता राखेको छु । त्यसका लागि नेपाल विद्युत् प्राधिकरणलगायत निकायसँग सहकार्य गर्ने योजना छ ।

सन् २०२४ मा अन्तरिक्ष विज्ञानमा सम्मेलन गर्ने कार्यक्रम तय भएको छ । यसका लागि १८ हजार डलर सहयोग आउने भएको छ । अन्तर्राष्ट्रिय स्कूल अन स्पेश साइन्स इज् सोलार टेरिस्ट्रियल फिजिस्जको सहयोगमा ६ दिने कार्यक्रम हुनेछ ।

सोसाइटीले अनुसन्धान गर्ने कुरो छ, कसरी सम्भव हुन्छ ?

अनुसन्धान गर्न नसकिने भन्ने सवाल आउँदैन । सोसाइटीले अनुसन्धान गर्न पाइँदैन भन्ने पनि छैन । हाम्रो सोसाइटी भनेको विश्वविद्यालयबाट अवकाश प्राप्त प्राध्यापकहरू हुनुहुन्छ । उहाँहरूको दक्षतालाई पछिल्ला पुस्तामा हस्तान्तरण गर्न पनि सोसाइटीले काम गर्नुपर्दछ । त्यसबाहेक, विद्यार्थीहरूलाई अनुसन्धान गर्न चाहिने सीप तथा अनुभव आदानप्रदान गर्ने कार्यक्रम राखिने छ। सोसाइटीले आफ्नै रिसर्च हब सञ्चालन गर्न पहल गरिनेछ ।

सोसाइटीको प्रदेशस्तरीय शाखा छन् । त्यहाँ पनि अनुसन्धानात्मक कुराहरू अगाडि बढाउने लक्ष्य छ । अहिले तत्काल गर्न सक्ने भनेको स्नातकोत्तर सकाएका विद्यार्थीले यदि विद्यावारिधि गर्न चाहेमा उनीहरूलाई विषयगत प्राध्यापक खोज्दिने तथा आवश्यक सीप तथा ज्ञान प्रदान गरिनेछ ।

केन्द्रीय कार्यालयमै कार्यालयको समस्या छ, प्रदेशमा तपाईँको योजना लागू हुन्छ ?

मैले पहिले भने, भौतिक शास्त्रीको नाताले असम्भव मलाई लाग्दैन । यसलाई कसरी सम्भव गर्न सकिन्छ, त्यसमा अगाडि बढ्न र अन्यसँग सहकार्य तथा सहायता कसरी लिने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । त्यसपछि सम्भव हुनेछ ।

नेपालमा भौतिक शास्त्री पछाडि परेको अवस्था देखिन्छ, किन होला ।

अन्य विषयको तुलनामा केही पछाडि परेको जस्तो देखिएता पनि समग्रमा त्यस्तो होइन। नेपालमा अनुसन्धान तथा विकासमा भौतिक शास्त्रको महत्वलाई जोड दिइँदैन । भौतिक शास्त्र विना अन्य विज्ञान विषयको प्रयोगात्मक अध्ययन तथा अनुसन्धान अगाडि बढ्दैन। यसको महत्त्व हामीले राज्यलाई बुझाउन नसक्दा पछाडि परेको हुनसक्छ । अर्को, भौतिक विज्ञानको कुरा उठाउँदा पर्याप्त ढङ्गबाट उठाउन सकेनौ । सधैँ यस्तै अवस्था रहिरहनेछ भन्ने मलाई लाग्दैन ।

सरकारले पनि भौतिक विज्ञानको महत्वमा विचार गर्न गर्नुपर्दछ । त्यसका लागि शैक्षिक क्षेत्र तथा प्रयोगशालामा भौतिक विज्ञानको दायरा फराकिलो बनाउनु पर्दछ । हाम्रा विद्यार्थी अझै प्रयोगात्मक भौतिक विज्ञानमा कमजोर छन् । त्यसो भन्दैमा अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रा विद्यार्थी अगाडि छन् । उनीहरूको सीप र दक्षता राज्यले सदुपयोग गर्न सकेका छैनन् ।

भौतिक शास्त्रमा रोजगारीको अवस्था नाजुक छ, त्यसबाहेक यसको उपयोगिता कहाँ कहाँ हुन्छ ?

भौतिक विज्ञान भनेको सबैलाई चाहिने विषय हो । जुन स्वास्थ्य उपकरणमा हुने एक्स रें,  एमआरआइ तथा जैविक ल्याबमा टेस्ट हुने कुराहरू भौतिक विज्ञान बाहेक आउन सक्ने कुरा भएन । यस कारण राज्य यस्ता विषयलाई विशेष प्राथमिकतामा राख्नु पर्दछ । त्यसपश्चात् अध्ययन अनुसन्धानको क्षेत्रमा विशेष बजेट व्यवस्था गरेर राज्यलाई चाहिने आवश्यक प्रविधि तथा विकासमा भौतिक शास्त्रको भूमिका हुनेछ।

जहाँसम्म रोजगारको कुरा छ, सरकार यसमा चुकेको छ । भौतिक शास्त्रलाई केवल पढाउने विषयको रूपमा मात्रै हेरिएको अवस्था छ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

नेपाल भौतिक शास्त्र समाजको सातै प्रदेशमा शाखा गठन गरिएको छ । त्यस मार्फत देशभर आफ्नो कार्यक्रम अगाडि बढाउने योजना छ । नेपाल तथा विदेशमा रहेका भौतिकशास्त्रीहरु सोसाइटीमा आबद्धता जनाएर सहयोग गर्न अनुरोध गर्दछु ।