‘चट्याङबाट बच्न जनचेतना जरुरी छ’

डा. श्रीराम शर्मा, चट्याङविद्

 

नेपालमा बढी चट्याङ पर्ने स्थान कहाँ–कहाँ छन् ?
पूर्वी झापाको दक्षिणी भेगदेखि चुरे क्षेत्रको नवलपरासी रुपन्देहीसम्म बढी चट्याङ परेको देखिन्छ । यसलाई हामीले चट्याङ चिम्नीको रूपमा हर्ने गरेका छौं ।

तीबाहेक अरु ठाउँ पनि त होलान् नि ?
पानी र जमिन भएको क्षेत्र वरिपरि चट्याङ पर्ने गरेको पाइएको छ । त्रिशूली किनारको करिब २ किलोमिटर आसपास पनि यसले असर गरेको पाइएको छ । चुरे क्षेत्रपछि रसुवा र नुवाकोटको त्रिशुली बेल्टदेखि नारायणीको नवलपरासीसम्म चट्याङ परेको देखिन्छ । त्रिशूली बेल्टलाई चट्याङको हिसाबले दोस्रो जोखिम क्षेत्र मानिन्छ ।

अहिलेसम्म चट्याङले अत्यधिक क्षति भएका क्षेत्र कुन–कुन हुन् ?
चट्याङबाट कहिले कता, कहिले कता क्षति भएको देखिन्छ । सन् २००८ मा चट्याङले दोर्जे तामाङका ४९ भेडा–बाख्रा एउटै खोरमा मारिएका थिए । हेटौंडा, फापरबारीमा एकै परिवारका ५ जना घरभित्र मारिएका थिए । तीबाहेक अन्य स्थानमा पनि प्रत्येक वर्ष ४–५ जना क्षेत्रमा चट्याङले मृत्यु भएको पाइएको छ ।

झापामै चट्याङ बढी पर्नुको कारण के हो ?
झापाको दक्षिण पूर्वी क्षेत्र बंगाल खाडीको नजिक पर्दछ । बंगाल खाडीबाट आउने समुद्री बाफ झापाको पश्चिमी क्षेत्रसम्म आइपुग्छ । चट्याङ बाफमा नै बन्ने हुनाले त्यहाँ बढी असर देखिन्छ ।

चट्याङबाट सुरक्षित रहन के–के गर्न सकिन्छ ?
घरमा सामान्य किसिमको ‘चट्याङ एरिस्टर’ राखेर सुचालक धातु जमिनसम्म पु¥याइ सुरक्षित रहन सकिन्छ । घर सुरक्षित छ भने खेतबारीमा काम गर्ने मानिस गड्याङगुडुङ आवाज आउनेबितिकै घर आएर बस्दा सुरक्षित हुन सकिन्छ । खेतबारीमा काम गर्ने मानिस त्यस्तो बेला रुखमुनि ओत लागेर बसेको पाइन्छ । त्यो धेरै जोखिमयुक्त हुन्छ । नेपालमा धेरैजसो घटना रुखमुनि हुने गरेका छन् ।

घरमा भएको बेला जोखिमबाट बच्न अपनाइने सबैभन्दा सरल विधि के हो ?
घरमाथि तामा वा पाताको त्रिशूल राखेर वा तामाको रडलाई जिआइ पाता वा आल्मुनियमको पाताले मोडेर जमिनसम्म पु¥याएर गाडदियो भने त्यो सस्तो र सुलभ हुन्छ । त्यसमा घरको अर्थिङ लगेर जोडिदियो अझै राम्रो हुन्छ । यसका लागि प्राविधिकको सहयोग चाहिन्छ । गाउँघरमा सामान्य इलेक्ट्रीसिटीको काम गर्ने मानिसले यो काम गर्न सक्छन् ।

यसका लागि कति खर्च गर्नुपर्छ ?
घरको आकार र उचाइमा खर्च निभर हुन्छ । सामान्यतः करिब १० हजार रुपैयाँसम्ममा यो काम गर्न सकिन्छ ।

कस्ताखाले बादलले चट्याङ पार्छ ? यो कसरी थाहा पाउन सकिन्छ ?
सामान्यतः बादल हेरेर मानिसले आँकलन गर्न सक्छन् । चट्याङ पर्न लागेको छ भने दिउँसो अत्यधिक गर्मी हुन्छ । गर्मीले उकुसमुकुस भएको दिन दिन चट्याङ पर्ने सम्भावना बढी हुन्छ । यो कुरा हामी शारीरिक रूपमा महसुस गर्न सक्छौं । त्यसबाहेक विशेषगरी चैतदेखि जेठसम्म बादल उठेर सेतोबाट खैरो, खैरोबाट कालो हुँदै गएमा उक्त दिन चट्याङ पर्ने सम्भावना बढी हुन्छ । कालो बादल बन्दै गइरहेको छ भने हामी २–३ बजेपछि भरसक घरबाट बाहिर निस्कनु हुँदैन ।

चट्याङको कारणले हुने जनधनको क्षति रोक्न कस्तो नीति अवलम्बन गर्नुपर्ला ?
–पहिलो कुरा गाउँघरका घर सुरक्षित बनाउनुपर्छ । अहिलेसम्म गाउँघरका घर कतै पनि सुरक्षित छैनन् । ८–१० हजार खर्च गरेर त्यसलाई सुरक्षित बनाउन सकिन्छ । मानिसको ज्यान ८–१० हजार रुपैयाँको मात्र होइन । त्यसैले यति रकम खर्च गर्न कन्जुस्याइँ गर्नु हुँदैन । जसको घर बन्दै छ, उसलाई १० हजार रुपैयाँ बढी खर्च गरेर चट्याङ प्रतिरोधी घर बनाउन सरकारले निर्देशन दिनुपर्छ ।

दोस्रो कुरा जनतामा जनचेतनाको कमी छ । सरकारले सञ्चार माध्यम प्रयोग गरेर वा प्रहरी जनसंगठन परिचालन गरेर चेतना जगाउने काम गर्नुपर्छ । राजनीतिक पार्टीका कार्यकर्ता तथा गैरसरकारी संस्थालाई परिचालन गरेर जनचेतना बढाउन जरुरी छ ।